सुरुङ्गा खबर,सप्तरी।
दलित अधिकार, भूमि तथा हरवा चरवा आन्दोलनका अगुवा एवं मार्गदर्शक स्व. बलदेब रामको ८औं स्मृति दिवस शनिबार सप्तरीको सुरुङ्गा नगरपालिका–४, कनकपुरमा भव्यताको साथ सम्पन्न भयो।

जन चेतना दलित संगम सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा स्व. रामको योगदानको स्मरण गर्दै उहाँद्वारा अगुवाइ गरिएका सिनो बहिष्कार आन्दोलन, भूमि अधिकार आन्दोलन, हरवा चरवा अधिकार आन्दोलन लगायतका विषयमा समिक्षा गरियो। साथै आउँदा पुस्तालाई चेतनाका माध्यमबाट सिकाई गर्ने, जिल्ला स्तरका अगुवाहरुलाई अभिमुखीकरण गर्ने तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सल्लाह सुझाव पनि संकलन गरियो।
कार्यक्रमका सचिव हरिराम रामले बताएअनुसार हरेक वर्षको श्रावण १७ गते स्व. बलदेब रामको स्मृतिमा दलित बालबालिकालाई छात्रवृत्ति वितरण, अगुवाहरुको क्षमता विकास अभिमुखीकरण लगायत विविध सामाजिक कार्यक्रम गरिँदै आएको छ।

समारोहमा पूर्व भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री तथा प्रदेशसभा सदस्य मा. गोविन्द बहादुर न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो। उहाँले स्व. बलदेब रामले समाज परिवर्तनका लागि गरेको संघर्ष र आन्दोलनको प्रशंसा गर्दै उहाँको योगदानबाट आज पनि आन्दोलनलाई ऊर्जा मिलिरहेको बताउनुभयो। कार्यक्रममा पत्रकार मणीलाल विश्वकर्मा, दलित अगुवा प्रथम लाल राम, दर्शन लाल मण्डल, इन्द्र नारायण चौधरी लगायतले विभिन्न कोणबाट स्व. रामको जीवन र संघर्षमाथि प्रकाश पारे।
जन चेतना दलित संगमका अध्यक्ष राम लखन रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा दर्शन लाल मण्डल (केन्द्रीय अध्यक्ष, हरवा चरवा अधिकार मञ्च), प्रथम लाल राम (केन्द्रीय अध्यक्ष, नेपाल राम समाज), मानो देवी सदा (दलित महिला सदस्य), बासुदेव घिमिरे (सामुदायिक आत्मनिर्भर सेवा केन्द्र), बालेश्वर विश्वकर्मा (नगर संयोजक, दलित संघर्ष समिति), पत्रकार दीपेन्द्र पासमान, शोभिता देवी राम (प्रदेश सदस्य, राष्ट्रिय भूमि अधिकार मञ्च), कमल नारायण राम (कोषाध्यक्ष, कृषि निर्माण मजदुर सहकारी संस्था), सुवधि देवी राम (संरक्षक, जन चेतना दलित संगम), जामुन राम (नगरस्तरीय हरवा चरवा अधिकार मञ्च) लगायतको उपस्थिति रहेको थियो।
समारोहमा स्थानीय जनसंगठनका अगुवा, महिला बचत समूहका प्रतिनिधिहरु, संस्थाका कार्यसमिति पदाधिकारी, कार्यकारी निर्देशक इन्द्र राम सहित जम्मा ६५ जना सहभागी भएका थिए।