सुरुङ्गा सम्बाददाता, श्रावण २
कंचनपुर, सप्तरी। चौथो हरवा–चरवा मुक्ति दिवसको अवसरमा सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा र्याली, अन्तरक्रिया, दीप प्रज्वलन तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।

कञ्चनरूप नगरपालिकामा जन चेतना दलित संगमको आयोजनामा र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमले हरवा–चरवाको लगत संकलन, पहिचान तथा परिचयपत्र वितरणका लागि आवश्यक कार्यविधि निर्माण, हरवा–चरवाको पुनर्स्थापना, नेपालको संविधानमा व्यवस्था गरिएको श्रमिकको हक, न्यूनतम ज्याला, समान कामको समान ज्याला लगायतका विषयमा विस्तृत छलफल गरेको थियो।
जन चेतना दलित संगमकी अध्यक्ष सोमित्रा रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै सप्तकोशी नगरपालिकाका कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा, कञ्चनरूप नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जोगेन्द्र पासमान, अग्नीसाइर कृष्णसवरण गाउँपालिका हरवा–चरवा सञ्जालका अध्यक्ष जामुन राम, तिरहुत गाउँपालिका सञ्जालका सचिव रामसीत मण्डल, सप्तकोशी नगरपालिका सञ्जालकी अध्यक्ष फूलकुमारी सदा, कञ्चनरूप नगरपालिका हरवा–चरवा नेटवर्ककी पार्वती सदा, जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र राम तथा हरवा–चरवा नेटवर्कका सदस्यहरू सहित कुल ४५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले हरवा–चरवासम्बन्धी कार्यविधिको विषयमा कार्यपालिकामा छलफल सम्पन्न भइसकेको जानकारी दिँदै यस आर्थिक वर्षमा हरवा–चरवाका सवाल सम्बोधन गर्न बजेट समेत विनियोजन गरिएको बताउनुभयो। उहाँले स्थानीय सरकार हरवा–चरवा समुदायको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
दिवसकै अवसरमा कञ्चनरूप नगरपालिका वडा नं. ४ र ५ का ६० जना हरवा–चरवा समुदायका बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको थियो। वडा अध्यक्ष जोगेन्द्र पासमानको हातबाट वितरण गरिएको छात्रवृत्तिअन्तर्गत प्रत्येक विद्यार्थीलाई १० थान कापी, विद्यालय पोशाक, एक प्याकेट पेन्सिल, इरेजर, कटर तथा पोशाक सिलाइ खर्चबापत रु. ८०० नगद प्रदान गरिएको थियो।
यसैबीच, सुरुङ्गा नगरपालिकामा कनकपुरदेखि कदमाहा चोकसम्म र्याली निकालिएको थियो। र्यालीमा हरवा–चरवाको पुनर्स्थापना गर”, “हरवा–चरवाको श्रमको सम्मान गर”, “समान कामको समान ज्याला लागू गर”, “हरवा–चरवा समुदायका बालबालिकाको उच्च शिक्षाको ग्यारेन्टी गर”, “सुरक्षित बासको व्यवस्था गर”लगायतका नाराहरू घन्काइएको थियो।
त्यसैगरी खडक नगरपालिका, बलान–बिहुल गाउँपालिका तथा तिलाठी–कोइलाडी गाउँपालिकामा समेत र्याली, दीप प्रज्वलन (मैनबत्ती बाल्ने) तथा सचेतनामूलक कार्यक्रम आयोजना गरी चौथो हरवा–चरवा मुक्ति दिवस मनाइएको जनाइएको छ।
जन चेतना दलित संगमले दिवसका अवसरमा आयोजना गरिएका कार्यक्रमहरूले हरवा–चरवा समुदायको पहिचान, पुनर्स्थापना, श्रमिक अधिकारको सुनिश्चितता तथा शिक्षा, सम्मानजनक रोजगारी र सामाजिक न्यायका सवाललाई थप सशक्त रूपमा उठान गर्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ।