न्यूनतम ज्याला कार्यान्वयनका लागि स्थानीय सरकार र सरोकारवालाको प्रतिबद्धता

0 Shares

सुरुङ्गा सम्बाददाता , कार्तिक २१

सप्तरीको सुरुङ्गा नगरपालिका–४, कनकपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा ‘न्यूनतम ज्याला सुनिश्चित गरौँ, समान कामको समान ज्याला लागू गरौँ’ भन्ने नाराका साथ न्यूनतम ज्याला सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

द फ्रिडम फण्डको आर्थिक सहयोगमा जन चेतना दलित संगमद्वारा सञ्चालित हरवा–चरवा सशक्तीकरण कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रममा नेपाल सरकारले मजदुरहरूका लागि निर्धारण गरेको न्यूनतम ज्याला कार्यान्वयन, महिला र पुरुषबीच समान कामको समान ज्याला सुनिश्चित गर्ने तथा श्रमिकहरूको श्रम अधिकारका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमको उद्देश्य हरवा–चरवा लगायत अन्य मजदुरहरूलाई रोजगारी छनोट गर्ने स्वतन्त्रता, ज्यालाको मोलमोलाई गर्न पाउने अधिकार, जबरजस्ती श्रममा लगाउन नपाइने तथा बिना ज्याला काममा लगाउन नपाइने कानुनी प्रावधानबारे जानकारी गराउनु रहेको जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले जानकारी दिनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी सुरुङ्गा नगरपालिका–४ का वडा अध्यक्ष देवेन्द्र प्रसाद चौधरीले नेपाल सरकार तथा स्थानीय सरकारले निर्धारण गरेको न्यूनतम ज्याला व्यवहारमा कार्यान्वयन गराउन नगरपालिका स्तरबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यसका लागि नगर कार्यपालिकाको बैठकबाट अनुगमन समिति गठन गर्ने पहल गरिने बताउनुभयो। साथै, आफ्नो पहिलो कार्यकालदेखि हालसम्म सुरुङ्गा नगरपालिकाले हरवा–चरवाको उत्थान तथा सशक्तीकरणका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय गोविन्द बहादुर न्यौपानेले हरवा–चरवाको लगत संकलन, पहिचान तथा परिचयपत्र वितरणका लागि कार्यविधि निर्माण गरिए पनि विविध कारणले हालसम्म राजपत्रमा प्रकाशन हुन नसकेको बताउनुभयो। उहाँले आफूले सुरुवात गरेको हरवा–चरवा लक्षित बजेट विनियोजनलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै मधेश प्रदेश सभाको बैठकमा उक्त कार्यविधि राजपत्रमा प्रकाशन गर्ने विषयमा पुनः पहल तथा ताकेता गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, न्यूनतम ज्याला प्रभावकारी रूपमा कार्यान्वयन गराउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा हरवा–चरवा अधिकार मञ्चका नगर संयोजक शोभित लाल राम, जिल्ला मञ्चका कोषाध्यक्ष चन्देश्वरी सदा लगायतले श्रमिकहरूको अधिकार, न्यूनतम ज्यालाको कार्यान्वयन र हरवा–चरवाको सामाजिक तथा आर्थिक अवस्थाबारे आफ्ना धारणा राख्नुभएको थियो।

जन चेतना दलित संगमका कार्यवाहक अध्यक्ष सोमित्रा रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माननीय गोविन्द बहादुर न्यौपाने रहनुभएको थियो। कार्यक्रममा सुरुङ्गा नगरपालिका–४ का वडा अध्यक्ष देवेन्द्र प्रसाद चौधरी, जिल्ला मञ्चका कोषाध्यक्ष चन्देश्वरी सदा, नगर संयोजक शोभित लाल रामलगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

सुरुङ्गा नगरपालिका क्षेत्रभित्र रहेका १८ वटा जनसंगठनका अगुवाहरू, संस्थाका कार्यसमिति पदाधिकारी तथा कर्मचारीसहित कुल ५३ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले गर्नुभएको थियो भने सञ्चालन प्रेम कुमार विश्वकर्माले गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले सरकारले तोकेको न्यूनतम ज्यालासम्बन्धी विषयलाई आ–आफ्नो समूह, गाउँ तथा बस्तीस्तरमा व्यापक छलफल र प्रचारप्रसार गर्ने तथा सरकारले निर्धारण गरेको दैनिक न्यूनतम ज्याला रु. ७५४ कार्यान्वयनका लागि सामूहिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमले हरवा–चरवा लगायत सम्पूर्ण श्रमिकहरूको श्रम अधिकार संरक्षण, समान कामको समान ज्याला र मर्यादित रोजगारीको वातावरण निर्माणका लागि स्थानीय तह, जनप्रतिनिधि, नागरिक समाज तथा श्रमिकहरूबीच सहकार्य र समन्वयको आवश्यकता औँल्याएको छ।

सम्बन्धित समाचार

सबै