सुरुङ्गा सम्बाददाता, कडरबोना
सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी ६५ वर्षीय गोपी चौधरी रहेका छन्।
स्थानीयवासीका अनुसार हराएको बाख्रा खोज्ने क्रममा चौधरी गाउँको पूर्व–उत्तर दिशामा जंगलछेउस्थित गोठतर्फ गएका थिए। उनीसँगै अन्य ४–५ जना पनि बाख्रा खोज्न गएको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार जंगलनजिक पुगेपछि जंगली हात्ती कराउन थालेको थियो। सोही क्रममा चौधरीले पनि हात्तीले जस्तै आवाज निकालेर ठूलो स्वरमा कराएपछि हात्ती आक्रामक बनेको र उनलाई लखेटेर आक्रमण गरेको बताइएको छ। हात्तीको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि इलाका प्रहरी कार्यालय भेडियाको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। स्थानीयवासीका अनुसार मृतकको शव घटनास्थलमै रहेको छ।
यस घटनाले सुरुङ्गा नगरपालिका–४ सहित आसपासका बस्तीमा त्रास फैलिएको छ। पछिल्लो समय जंगल आसपासका क्षेत्रमा जंगली हात्तीको आवागमन बढ्दै गएपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न थालेका छन्।
जंगली हात्तीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी सतर्कता र नियन्त्रणका उपाय अपनाउनुपर्ने आवश्यकता देखिएको छ।