सैफुल्लाह राइन
धनुषा। सामाजिक सञ्जाल टिकटकमार्फत हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक भिडियो प्रस्तुत गरेर लोकप्रियता कमाएका धनुषाका चर्चित टिकटोकर बुदुर पासवानको निधन भएको छ। सोमबार अपराह्न उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार धनुषाको औरही गाउँपालिका–१, पौडेश्वरस्थित जनकपुर–पौडेश्वर सडकखण्डको छेउमा पासवान सिकिस्त बिरामी अवस्थामा फेला परेका थिए। उनी सडक छेउमा रगत वान्ता गरिरहेको अवस्थामा भेटिएको बताइएको छ।
स्थानीय तथा प्रहरीको सहयोगमा उनलाई तत्काल उपचारका लागि जनकपुर लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
शहीदनगर नगरपालिका–४, ननुपट्टिका स्थायी बासिन्दा पासवान टिकटकमा सामान्य जनजीवन, हास्यव्यङ्ग्य र मनोरञ्जनात्मक विषयवस्तुमा आधारित भिडियोमार्फत दर्शकमाझ परिचित थिए। उनको सरल प्रस्तुति, मौलिक शैली र मनोरञ्जनात्मक अभिव्यक्तिले उनलाई सामाजिक सञ्जालमा लोकप्रिय बनाएको थियो।
उनले टिकटकका विभिन्न चर्चित सर्जकहरूसँग समेत सहकार्य गर्दै भिडियो निर्माण गरेका थिए। उनका भिडियोहरू सामाजिक सञ्जालमा उल्लेख्य रूपमा रुचाइने गरेका थिए।
उनको असामयिक निधनको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा शोक व्यक्त गर्नेहरूको क्रम बढेको छ। उनलाई चिन्ने, उनका शुभचिन्तक तथा दर्शकहरूले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।