बिष्णु राम, बिरगंज
सुरुङ्गा खबर बारा । बाराको फेटा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार युवा नेता उमेश दुबे प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय आदित्य पाश्वानको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका छन् ।
फेटा गाउँपालिका वडा नम्बर ३ स्थित निर्माणाधीन अस्पताल भवनको उद्घाटन गर्न खोजिएपछि उत्पन्न विवादका क्रममा प्रहरीको गोली लागेर घाइते भएका आदित्यलाई भेट्न दुबे अस्पताल पुगेका हुन् । अस्पतालमा पुगेर उनले घाइते बालक आदित्य पाश्वानको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
स्थानीयवासीका अनुसार अस्पताल भवन पूर्ण रूपमा निर्माण सम्पन्न नभई उद्घाटन गर्न खोजिएको भन्दै स्थानीय जनताले विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय तथा जनमत पार्टीका सदस्य धर्मेन्द्र पाश्वानका १५ वर्षीय छोरा आदित्य पाश्वान घाइते भएका थिए ।
घटनाले स्थानीयवासीमा चिन्ता र आक्रोश पैदा गरेको छ । उपचाररत बालकको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गर्दै अस्पताल पुगेका युवा नेता दुबेले यस्ता घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकारको सम्मान गरिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
विकास निर्माणका काम जनताको आवश्यकता र सुविधाका लागि हुनुपर्ने उल्लेख गर्दै अधुरो संरचनाको उद्घाटनभन्दा पहिले त्यसलाई पूर्णता दिनु र जनताको विश्वास जित्नु महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।
घाइते बालक आदित्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्नुपर्ने मागसमेत उठेको छ ।