दलित परिवारका युवा रुपेश कुमार रामको लोकसेवामा उल्लेखनीय सफलता

0 Shares

सुरुङ्गा सम्बाददाता, बारा

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१६ निवासी २० वर्षीय युवा रुपेश कुमार रामले विभिन्न तहका लोकसेवा परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका उनले निरन्तर संघर्ष, मेहनत र दृढ इच्छाशक्तिका बलमा छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्।

रुपेशले १८ वर्षकै उमेरमा सरकारी विद्यालयबाट डिप्लोमा इन एनिमल साइन्स उत्तीर्ण गरेका थिए। अध्ययनसँगै प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरेका उनले प्रदेश लोकसेवा आयोग गण्डकीको चौथो तहमा पहिलो प्रयासमै लिखित तथा द्वितीय चरण उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी भएका थिए। उक्त प्रक्रियामा उनी वैकल्पिक सूचीमा पर्न सफल भएका थिए।

त्यसपश्चात् गण्डकी प्रदेशको मनाङ जिल्लास्थित नासो गाउँपालिकामा सहायक चौथो तह (नायब पशु सेवा प्राविधिक) पदमा स्थायी नियुक्ति प्राप्त गर्न सफल भएका छन्।

यसैगरी, कोशी प्रदेश लोकसेवा आयोगको पाँचौँ तहको परीक्षामा समेत उनले उत्कृष्ट प्रदर्शन गर्दै लिखित र अन्तर्वार्ता दुवै चरण उत्तीर्ण गरेका छन्। खुलातर्फ एक नम्बरमा नाम निकाल्दै उनी उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशमा सिफारिश भएका छन्।

हालै उनले संघीय लोकसेवा आयोगअन्तर्गत राजपत्र अनंकित द्वितीय (चौथो तह) मा माग पद संख्या १ मा सिफारिश भई थप सफलता हात पारेका छन्।

कम उमेरमै विभिन्न तहका लोकसेवा परीक्षामा सफलता हासिल गरेका रुपेशको उपलब्धि सम्पूर्ण युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

सम्बन्धित समाचार

सबै