सुरुङ्गा सम्बाददाता
सप्तरी। पछिल्ला दिनहरूमा सामाजिक सद्भाव बिथोलिने घटनाप्रति चासो व्यक्त गर्दै नेपाल राम समाजले सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्पूर्ण नागरिकलाई सत्य, संयम र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

नेपाल राम समाजका केन्द्रीय कार्यसमितिका महासचिव तथा सामाजिक अभियन्ता राधेश्याम रामले सार्वजनिक गरेको अपिलमा संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकारिताको आचारसंहिता, तथ्यपरकता, सन्तुलन र संयमलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको छ। साथै, सामाजिक सद्भावमा असर पुग्ने, उत्तेजना फैलाउने वा विभाजन सिर्जना गर्ने सामग्रीको प्रचार–प्रसार नगर्न सबैलाई अनुरोध गरिएको छ।
अपिलमा सामाजिक सञ्जालमार्फत प्रकाशित हुने पोस्ट र समाचारले समाजलाई सचेत, एकताबद्ध र शान्तिपूर्ण बनाउन योगदान पुर्याउनुपर्ने उल्लेख गरिएको छ। समाचार संकलनका क्रममा पत्रकारको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गरिएको छ।
नेपाल राम समाजले सबै धर्म, समुदाय, राजनीतिक दल, मुस्लिम आयोग लगायत सम्बन्धित निकायलाई शान्तिपूर्ण वातावरण कायम गर्न सक्रिय भूमिका खेल्न आह्वान गर्दै संवाद र सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ।
अपिलको अन्त्यमा “सत्य, शान्ति र सामाजिक सद्भावका लागि एकजुट बनौँ” भन्ने सन्देश दिँदै समाजमा पारस्परिक सम्मान, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।