जीवन कुमार राम, १५ कार्तिक
सप्तरी । सप्तरी बहिरा संघको १२औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अरबिन्द कुमार चौधरीको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनबाट अध्यक्षमा अरबिन्द कुमार चौधरी, उपाध्यक्षमा किरण कुमारी यादव, सचिवमा रोशन कुमार झा र कोषाध्यक्षमा अमित रायमाझी निर्वाचित भएका छन्।
त्यसैगरी, सदस्यहरूमा विकास कुमार साह, पुनम कुमारी यादव र प्रज्वल यादव चयन भएका छन्।
साधारण सभामा सहभागी सदस्यहरूबीच संघको भावी कार्यदिशा, संस्थागत सुदृढीकरण तथा बहिरा समुदायका हक, अधिकार र अवसरका विषयमा छलफल भएको थियो। छलफलपछि सर्वसम्मत सहमतिका आधारमा नयाँ कार्यसमिति गठन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिले बहिरा समुदायको हकहित संरक्षण, सामाजिक समावेशीकरण, समान अवसर तथा अधिकार सुनिश्चितताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। साथै, संघलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै समुदायका समस्या तथा सवाललाई सम्बन्धित निकायसम्म पुर्याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरिएको छ।