
शियाराम यादव
सुरुङ्गा खबर।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३, परियारपुरका १४ वर्षीय एक किशोरको बलान नदीमा डुबेर मृत्यु भएको घटनापछि स्थानीय जनप्रतिनिधि तथा नेताहरूले पीडित परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्। यस क्रममा मधेश प्रदेश सभा सदस्य माननीय राजेन्द्र चौधरीले समेत प्रदेश सरकारमार्फत आवश्यक सहयोगको आश्वासन दिएका छन्।
वडा अध्यक्ष भोगेन्द्र यादव, स्थानीय जिल्ला कमिटी सदस्य राम नारायण यादवलगायतको टोली मृतकको घर पुगेको थियो। उनीहरूले परिवारलाई ढाडस दिँदै प्रदेश सरकारद्वारा सञ्चालित बीमा योजनाबारे जानकारी गराए र राहत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।वडा अध्यक्ष यादवले यस्ता दुःखद घटना रोकथामका लागि स्थानीय तहमार्फत नदी किनारमा सावधानीमूलक सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। साथै, बीमा प्रक्रिया छिटो सम्पन्न गरी राहत रकम शीघ्र उपलब्ध गराउने विश्वास दिलाए।
बलान नदीमा विगतमा पनि डुबेर मृत्यु हुने घटनाहरू दोहोरिँदै आएको स्थानीयहरूको भनाइ छ। उनीहरूले नदीमा नुहाउँदा वा पौडी खेल्दा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।