विदेशमा रहेर मातृभूमिको पीडामा मलम, हेल्प मधेशी साउदी अरबद्वारा ११ लाख ११ हजार १११ सहयोग

0 Shares

जीवन कुमार राम, भाद्र २१

साउदी अरब । देशमा बाढी तथा प्राकृतिक विपद्ले नागरिकको जनजीवन प्रभावित भइरहेका बेला विदेशमा रहेका नेपालीहरूले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। हेल्प मधेशी साउदी अरबले बाढीपीडितको राहत तथा उद्धारका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

संस्थाका अध्यक्ष श्याम कुमार महतोले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको जानकारी दिनुभयो।

‘सेवा नै हाम्रो धर्म हो’ भन्ने मूल भावनाका साथ संस्थाले विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिने उद्देश्यले सहयोग गरेको अध्यक्ष महतोले बताउनुभयो।

विदेशमा रहे पनि मातृभूमिमा आइपरेको दुःख र विपद्प्रति नेपालीहरूको जिम्मेवारी उत्तिकै रहेको भन्दै अध्यक्ष महतोले मानवीय सेवामा हातेमालो गर्ने सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।

११ लाख ११ हजार १११ रुपैयाँको यो सहयोग रकम केवल आर्थिक सहयोग मात्र नभई विपद्को समयमा पीडित नागरिकप्रति विदेशमा रहेका नेपालीहरूको ऐक्यबद्धता, सद्भाव र मानवीय जिम्मेवारीको प्रतीक भएको संस्थाले जनाएको छ।

हेल्प मधेशी साउदी अरबले सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी, सेवक तथा शुभेच्छुकहरूप्रति हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै