जीवन कुमार राम, भाद्र २३
साउदी अरब। रसुवा जिल्लामा आएको भीषण बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि गैरआवासीय मधेसी संघ साउदी अरबले रु. १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

गैरआवासीय मधेसी संघ साउदी अरबका अध्यक्ष कासिन्द्र पासमानको पहलमा उक्त सहयोग रकम उपलब्ध गराइएको हो। अध्यक्ष पासमानले बाढीपहिरोबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै विपद्को यस दुःखद् घडीमा पीडित परिवारको राहत तथा उद्धारका लागि सहयोग गरिएको जानकारी दिनुभयो।
संघका अनुसार रु. १,११,१११/- (अक्षरेपी: एक लाख एघार हजार एक सय एघार रुपैयाँ मात्र) सहयोग गरिएको हो।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको पीडामा साथ दिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै संघले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
अध्यक्ष पासमानले पीडितहरूको दुःखमा गैरआवासीय मधेसी संघ साउदी अरबको साथ, सहयोग र एकता सदैव रहने बताउनुभयो।
संघले बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय, संघसंस्था तथा आम नागरिकलाई आवश्यक सहयोग र सहकार्य गर्नसमेत आग्रह गरेको छ।