खडक नगरपालिकामा प्रथम नगरस्तरीय नमुना बाल नगरसभा सम्पन्न

0 Shares

सुरुङ्गा सम्बाददाता, भाद्र २७

सप्तरी । राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्रथम नगरस्तरीय नमुना बाल नगरसभा कार्यक्रम सम्पन्न भएको छ।

नगर बाल क्लब सञ्जाल, खडक नगरपालिकाको आयोजनामा तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, कल्याणपुरको सहयोगमा आयोजित कार्यक्रममा बालबालिकालाई स्थानीय सरकारको कार्यप्रणाली, योजना निर्माण तथा निर्णय प्रक्रियाबारे व्यवहारिक जानकारी प्रदान गरिएको थियो।

नगर बाल क्लब सञ्जाल खडक नगरपालिकाका अध्यक्ष शिवशंकर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख जयप्रकाश चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी शाखा प्रमुख सुशिला कुमारी चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा बालकल्याण अधिकारी अनिता कुमारी शाह, सबल नेपालका अशोक कुमार शाह तथा पत्रकार रासिन्द्र यादव, ओमप्रकाश यादव र रहमूल अलीलगायतको सहभागिता रहेको थियो।

 

नमुना बाल नगरसभासम्बन्धी प्रशिक्षण प्रदेश बाल सञ्जालका अध्यक्ष निरजकुमार शाह र मधेश प्रदेश युवा सञ्जालका पूर्व संस्थापक अध्यक्ष अमर यादवले प्रदान गर्नुभएको थियो।

 

कार्यक्रममा खडक नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका विभिन्न बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बालबालिकालाई नगरसभा सञ्चालनको अभ्यास गराउँदै स्थानीय तहमा हुने योजना, छलफल, निर्णय तथा कार्यान्वयन प्रक्रियाबारे प्रत्यक्ष अनुभव गराइएको आयोजकले जनाएको छ।

 

बालबालिकामा नेतृत्व क्षमता विकास गर्ने, स्थानीय शासन प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने तथा बाल अधिकारका विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।

 

कार्यक्रमले बालबालिकालाई स्थानीय सरकारसँग जोडिन तथा आफ्ना सवाल र अधिकारका विषयमा खुलेर आवाज उठाउन प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

सबै