अबोध बालिका गरिमा चौधरीको जघन्य हत्या, दोषीमाथि कठोर कारबाहीको माग

0 Shares

बिष्णु राम, बिरगंज

वीरगंज । उज्यालो नेपाल पार्टी, मधेश प्रदेश समितिले बारा जितपुर–सिमराकी ३ वर्षीया बालिका गरिमा चौधरीको अपहरणपछि हत्या भएको घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

 

पार्टीका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंह (पराग)ले जारी गरेको विज्ञप्तिमा बालिका हराएको जानकारी पाएपछि परिवारले शंकास्पद व्यक्तिको नामसमेत प्रहरीलाई दिएको अवस्थामा तत्काल प्रभावकारी अनुसन्धान र आवश्यक कारबाही अघि नबढाइएको आरोप लगाइएको छ।

 

बालिकाको शव भेटिएपछि सोही शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको घटनाले प्रहरीको प्रारम्भिक अनुसन्धान प्रक्रियामाथि थप प्रश्न उठाएको पार्टीको भनाइ छ।

 

पार्टीले घटनाको स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। अनुसन्धानमा लापरवाही वा ढिलासुस्ती भएको पाइए सम्बन्धित प्रहरी अधिकारी तथा कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गर्नसमेत माग गरिएको छ।

 

त्यस्तै, घटनामा संलग्न दोषी तथा मतियारलाई कुनै पनि राजनीतिक वा प्रशासनिक दबाबबिना कानुनको कठघरामा ल्याउन र पीडित परिवारलाई क्षतिपूर्तिको आश्वासनमा मात्र सीमित नराखी न्याय दिलाउन पार्टीले सरकारसँग आग्रह गरेको छ।

 

जितपुर–सिमरा क्षेत्रमा बालबालिका तथा आम नागरिकको सुरक्षाका लागि विशेष सुरक्षा योजना लागू गर्नुपर्ने मागसमेत विज्ञप्तिमा गरिएको छ।

 

उज्यालो नेपाल पार्टीले घटनालाई निष्पक्ष छानबिनमार्फत तार्किक निष्कर्षमा पुर्‍याई दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै