बिष्णु राम, बिरगंज
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोमबार साँझ करिब ६ः३० बजे आदर्शनगर क्षेत्रमा प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर खानतलासी गर्ने क्रममा चार जनाको साथबाट स्रोत नखुलेको कुल ५२ लाख ५० हजार रुपैयाँ नगद बरामद भएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनीका ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट क्रमशः सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद गरेको जनाएको छ।
बरामद रकममध्ये १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५ सय रुपैयाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३ सय रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद नगद रकमको स्रोत खुल्न नसकेपछि चारै जनालाई रकमसहित नियन्त्रणमा लिइएको हो। उनीहरूबाट बरामद भएको नगद रकमको स्रोत तथा कारोबारको प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।