सुरुङ्गा खबर, सप्तरी जेठ २२ । भारत – नेपाली चमार समुदायका प्रतिनिधिहरू भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक विशेष अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित भएका छन्। ‘सदगुरु रविदास रिसर्च एण्ड च्यारिटेबल ट्रस्ट’को आयोजनामा सम्पन्न “बेगमपुरा: अ रोड टु वर्ल्ड पिस एण्ड हार्मोनी” विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट सहभागी भएका चमार कल्याण समाज नेपालका पदाधिकारीहरूलाई विशेष सम्मान प्रदान गरिएको हो।
सम्मानित हुने व्यक्तिहरूमा समाजका केन्द्रीय अध्यक्ष दिनेश चमार, केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र कुमार महरा, केन्द्रीय सल्लाहकार सुखदेव राम र मधेश प्रदेशका महासचिव सुनिल राम रहेका छन्। चमार समुदायको हकहित र सामाजिक न्यायको पक्षमा विशेष योगदान पुर्याउँदै आएको भन्दै ट्रस्टले उनीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो।
चमार कल्याण समाज नेपालका प्रतिनिधिमण्डलको नेतृत्व गरेका अध्यक्ष दिनेश चमारले नेपाली चमार समुदायको योगदानलाई मित्रराष्ट्र भारतमा सम्मानित गरिनु गौरवको विषय भएको बताए। उनले समाजले राष्ट्रियस्तरदेखि स्थानिय तहसम्म दलित समुदायको अधिकारका लागि अहोरात्र खटिएको उल्लेख गरे।
कार्यक्रममा बोल्दै सल्लाहकार सुखदेव रामले चमार कल्याण समाज नेपालले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउँदै आएको र आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले समुदायको हितमा कार्य अघि बढाइने बताए। उनले नेपाली चमार समुदायको योगदानलाई भारतका विद्वान वर्गले चिनेको र स्वतन्त्र रूपमा सम्मान गरेको पहिलोपटकको अवसरले सम्पूर्ण समुदायलाई ऊर्जा दिएको धारणा राखे।
सम्मेलनमा अमेरिका, बेलायत, युरोप, कतार, जापान लगायत विभिन्न देशहरूबाट आएका चमार समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपाली प्रतिनिधिहरूले कार्यक्रममा चमार समुदायको स्थिति, योगदान र भविष्य योजना बारे विशेष प्रस्तुतिहरू समेत दिएका थिए।

कार्यक्रमको समापनमा चमार कल्याण समाज नेपालले आयोजक संस्था सदगुरु रविदास रिसर्च एण्ड च्यारिटेबल ट्रस्टप्रति विशेष आभार प्रकट गर्दै मित्र राष्ट्र भारतले देखाएको सद्भाव र सम्मानलाई नेपाली चमार समुदायको ऐतिहासिक उपलब्धि मानेको छ।