अग्रगामी मोर्चा चुनावी गठबन्धन मात्र होइन, राष्ट्रिय वैकल्पिक शक्ति निर्माणको अभियान हो’ : हरिनन्दन अम्बेडकर

0 Shares

सुरुङ्गा सम्बाददाता, भाद्र २६

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले साझा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी गरिरहेका बेला बहुजन एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष हरिनन्दन अम्बेडकरले अग्रगामी मोर्चालाई राष्ट्रिय वैकल्पिक शक्ति निर्माणको आधार बनाउनुपर्ने बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अम्बेडकरले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताको रक्षा गर्दै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने बलियो राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए।

अम्बेडकरले अग्रगामी मोर्चालाई केवल निर्वाचनमा सिट बाँडफाँट गर्ने वा साझा चुनाव चिह्न प्रयोग गर्ने गठबन्धनका रूपमा बुझ्न नहुने बताए।

‘अग्रगामी मोर्चा केवल चुनाव जित्ने गठबन्धन होइन, देशमा विद्यमान विभेद, असमानता र उत्पीडनको अन्त्य गर्दै राष्ट्रिय वैकल्पिक शक्ति निर्माण गर्ने अभियान हो।’

उनले साना–साना राजनीतिक शक्तिमा विभाजित हुँदा परिवर्तनकारी शक्तिको प्रभाव कमजोर हुँदै गएको उल्लेख गर्दै प्रगतिशील, लोकतान्त्रिक, वाम तथा उत्पीडित समुदायका राजनीतिक शक्तिहरूलाई साझा राजनीतिक केन्द्रमा संगठित गर्नुपर्ने बताए।

अम्बेडकरले दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएका वर्ग, श्रमिक तथा उत्पीडित समुदायलाई राजनीतिक निर्णय प्रक्रियाको केन्द्रमा स्थापित नगरेसम्म वास्तविक सामाजिक न्याय र समानता सम्भव नहुने धारणा व्यक्त गरे।

उनका अनुसार अग्रगामी मोर्चाले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई राजनीतिक पुनर्संरचनाको अवसरका रूपमा लिनुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय र सबै उत्पीडित समुदायको राजनीतिक प्रतिनिधित्वलाई केन्द्रमा राखेर साझा राजनीतिक कार्यक्रम निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

‘हामीले व्यक्तिको होइन, विचारको राजनीति गर्नुपर्छ। सत्ता परिवर्तन मात्र होइन, राजनीतिक संरचना र शासन प्रणालीमा बहुजन तथा उत्पीडित समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्छ,’ अम्बेडकरले भने।

यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले पनि आगामी निर्वाचनमा मोर्चामा आबद्ध दलहरू साझा चुनाव चिह्न लिएर सहभागी हुने तयारी भइरहेको बताए। उनले यो सहकार्यलाई निर्वाचनसम्म सीमित नराखी राजनीतिक, वैचारिक तथा संगठनात्मक आधारमा स्थायी एकताको दिशामा अघि बढाउने लक्ष्य रहेको बताए।

जनकपुरधाममा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताको सहभागिता थियो। सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीलगायत जिल्लाबाट आएका नेता–कार्यकर्ताबीच मोर्चाको आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिबारे छलफल गरिएको थियो।

अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल आबद्ध रहेको बताइएको छ।

मोर्चाका नेताहरूले आगामी निर्वाचनलाई नयाँ राजनीतिक ध्रुव निर्माण गर्ने अवसरका रूपमा लिँदै साझा राजनीतिक कार्यक्रम, संगठन विस्तार र कार्यकर्ता परिचालनलाई तीव्रता दिने बताएका छन्।

नौ दल एउटै चुनाव चिह्नमा निर्वाचनमा सहभागी हुने तयारीसँगै अग्रगामी मोर्चाले मधेससहित राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सम्भावना बढेको छ।

सम्बन्धित समाचार

सबै