
सुरुङ्गा सम्बाददाता
सुरुङ्गा खबर, सप्तरी- बुटवल। रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका निवासी मणिराम चमार जिल्लाकै पहिलो चमार समुदायबाट नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा सफलता प्राप्त गरी चिकित्सक बन्न सफल भएका छन्। यस उपलब्धिका अवसरमा उनलाई नेपाली चमार समुदायको साझा संगठन चमार कल्याण समाज नेपालले सम्मान गरेको छ।
कार्यक्रमलाई जिल्लाका समाजसेवी हरिद्वार चमारले विशेष संयोजन गरेका थिए भने रोहिणी गाउँपालिकाकी उप–मेयर शिवकान्ती चमारले सहयोग पुर्याएकी थिइन्। कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष दिनेश चमारले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी चमार समुदायका लागि ऐतिहासिक अवसर भएको बताए। उनले डा. मणिराम चमारको सफलता चमार आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको भन्दै यसले समुदायको पहिचान र आत्मविश्वास बढाएको धारणा राखे।
डा. चमार रुपन्देहीमै पहिलो पटक चमार समुदायबाट चिकित्सक बन्न सफल भएकाले यसले गाउँ र जिल्लाको गौरव उच्च बनाएको पनि अध्यक्ष चमारले बताए।
नेपाल सरकारले हाल चमार, डोम र मुसहर समुदायलाई लक्षित गरी उच्च शिक्षामा विशेष लगानी गर्दै आएको उल्लेख गर्दै यसले तिनै समुदायको जीवनस्तर उकास्ने विश्वास व्यक्त गरियो।
प्रदेश सदस्य दीपक चमारको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा. मणिराम चमारसँगै उनका बुवालाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा रोहिणी–६ का वडाध्यक्ष धिरेन्द्र चमार, ओमसतिया गाउँपालिकाका प्रतिनिधि आशोक चमार, संजय चमारलगायतले डा. चमारलाई सम्मान गरेका थिए।