हरवा-चरवा बालबालिकाहरुलाई छात्रबृति वितरण

0 Shares

सुरुङ्गा सम्बाददाता

सुरुङ्गा खबर,सप्तरी। द फ्रिडम फण्डको आर्थिक सहयोग तथा जन चेतना दलित संगम द्धारा सञ्चालित हरवा–चरवा सशक्तीकरण कार्यक्रम अन्तर्गत तिरहुत गाउँपालिकामा हरवा–चरवा तथा दलित समुदायका बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ।

तिरहुत गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा हरवा–चरवा तथा दलित समुदायका बालबालिकाको गुणस्तरीय शिक्षामा सहयोग पुर्या्उने, विद्यालय छोड्ने दर घटाउने तथा अध्ययनप्रति उनीहरूको उत्साह बढाउने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको हो।

जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामका अनुसार प्रत्येक विद्यार्थीलाई करिब रु. २,५०० बराबरको शैक्षिक सामग्री उपलब्ध गराइएको छ। छात्रवृत्तिअन्तर्गत १० थान कापी, १ प्याकेट पेन्सिल, २ थान बलपेन, इरेजर, कटर, विद्यालय पोशाक, १ थान विद्यालय झोला तथा पोशाक सिलाइ खर्चबापत रु. ८०० प्रदान गरिएको छ।

कार्यक्रमअन्तर्गत सोही दिन तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ र ५ का ट्युसन केन्द्रमा अध्ययनरत ६० जना, तिरहुत गाउँपालिकाका ६० जना तथा कञ्चनरूप नगरपालिकाका ६० जना गरी कुल १८० जना बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको जनाइएको छ।

जेडीएसले आफ्नो कार्यक्षेत्रभित्र रहेका सुरुङ्गा नगरपालिका, बलानबिहुल गाउँपालिका, खडक नगरपालिका, अग्नीसाइर कृष्णसवरण गाउँपालिका, सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र कञ्चनरूप नगरपालिका गरी आठवटै स्थानीय तहका कुल ४०० जना हरवा–चरवा तथा दलित बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने योजना रहेको जनाएको छ।

कार्यक्रममा जेडीएसकी कार्यवाहक अध्यक्ष सोमित्रा रामको अध्यक्षता तथा तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादवको प्रमुख आतिथ्य रहेको थियो। गाउँपालिका उपाध्यक्ष विणा देवी यादव विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादव, वडा नं. १ का अध्यक्ष शिव नारायण महतो, वडा नं. २ का अध्यक्ष संजीव यादव, वडा नं. ३ का अध्यक्ष शिवचन्द्र यादव, वडा नं. ४ का अध्यक्ष बलराम यादव, वडा नं. ५ का अध्यक्ष रमानन्द चौधरी, शिक्षा शाखा, रोजगार संयोजक, मुक्त हरवा–चरवा अधिकार मञ्चका केन्द्रीय महासचिव लागेन्द्र सदा, जिल्ला अध्यक्ष देव लाल राम, जेडीएसका कोषाध्यक्ष बेचनी देवी सदा, सचिव हरी प्रसाद राम, कार्यकारी निर्देशक ईन्द्र राम, कर्मचारी, सहजकर्ता, अभिभावक तथा स्थानीय सरोकारवालासहित करिब १०० जनाको सहभागिता रहेको थियो।

वक्ताहरूले हरवा–चरवा तथा दलित समुदायका बालबालिकाको शिक्षामा लगानी गर्नु सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यालयमा नियमित उपस्थितिसँगै शैक्षिक उपलब्धि सुधार गर्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

सबै