शियाराम यादव, असोज–१६
सिरहाको लहान–२३, गाढास्थित मिथिला सामुदायिक सिकाइ केन्द्रको २१औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष बिलेक्षण महतोको अध्यक्षतामा भएको सभामा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो प्रमुख अतिथि तथा लहान–२३ का वडाध्यक्ष बद्री नारायण यादव विशिष्ट अतिथि थिए।
सभामा विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता थियो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति, आर्थिक गतिविधि र आगामी आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजनाबारे छलफल गरिएको थियो।
केन्द्रले आगामी वर्ष स्वास्थ्य शिविर, कृषि तालिम, डिजिटल साक्षरता, परम्परागत सीप प्रवर्द्धन, खेलकुद, वातावरण संरक्षण तथा उद्यमशीलता विकास लगायत १४ वटा कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना प्रस्तुत गरेको छ। यसका लागि ४ लाख ४५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।
साथै, विद्यालयको गुणस्तर सुधार, विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना अभियान तथा वडास्तरीय हाजिरीजवाफ प्रतियोगितालाई प्राथमिकतामा राखिएको छ।