लुम्बिनी साँस्कृतिक नगरपालिकामा छात्रवृति वितरण कार्यक्रम सम्पन्न

0 Shares

जीवन कुमार राम, सुरुङ्गा खबर। लुम्बिनी, रूपन्देही — लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तर्गत विभिन्न तह, विषय तथा कक्षामा अध्ययनरत छात्रा तथा छात्रहरुलाई लक्षित गर्दै आयोजित नगर स्तरीय छात्रवृत्ति वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

 

नगर प्रमुख सजरुद्दिन मुसलमानको अध्यक्षता र उपप्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयबाट अध्ययनरत ५० जना छात्रा तथा छात्रहरुले छात्रवृत्ति प्राप्त गरेका छन्।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख मुसलमानले शिक्षा नै विकासको मूल आधार भएकाले नगरपालिकाले शिक्षा क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताए। उनले छात्रवृत्तिले विद्यार्थीमा थप प्रेरणा मिल्ने र आर्थिक अवस्था कमजोर परिवारका बालबालिकालाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

उपप्रमुख कल्पना हरिजनले छात्रवृत्ति वितरण कार्यक्रमले लैङ्गिक समावेशिता र शैक्षिक पहुँचको सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीहरुलाई थप मेहनत र अनुशासित भएर अध्ययन गर्न आग्रह गरिन्।

 

छात्रवृत्ति प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई दिँदै नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको शैक्षिक यात्रा सफल, उज्यालो र प्रेरणादायी होस् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

सबै