
सुरुङ्गा सम्बाददाता, असोज १६
सर्लाही, धनकौल । सर्लाही जिल्लाको धनकौल गाउँपालिका–२ मा हामी सबैको आवाज नेपाल ले विजया दशमीको अन्तिम दिन मेलामा आएका श्रद्धालु भक्तजनलाई निःशुल्क खानेपानी तथा सरबत वितरण गरेको छ।
मेलामा भेला भएका सयौँ भक्तजनलाई तिर्खा नलागोस् भन्ने उद्देश्यले संस्थाले खानेपानी र मीठो सरबत उपलब्ध गराएको थियो। साथै, दुर्गा भवानीको सरणमा १२५ किलोको लड्डु अर्पण गरी विशेष पूजा सम्पन्न गरिएको थियो।
खानेपानी तथा सरबत सेवामा सहभागी भक्तजन रामलाल ठाकुरले भने, “धेरै भिडभाडमा तिर्खा लागेको बेला यसरी संस्थाले पानी र सरबत वितरण गर्दा हामीलाई निकै राहत मिल्यो। यस्तो काम अरू संस्थाले पनि गर्नुपर्छ।”
त्यस्तै स्थानीय भक्तजन सुनिता देवी यादवले भनिन्, “विजया दशमीको मेलामा यति ठूलो भीड हुन्छ। यस्तो बेला साधक र भक्तजनलाई सहज हुनेगरी व्यवस्था गरेकोमा हामी सबैको आवाज नेपाललाई धन्यवाद दिन चाहन्छु।”
कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधिहरूले धार्मिक तथा सांस्कृतिक पर्वहरूमा समाजको आवश्यकता अनुसार यस्ता गतिविधि निरन्तर गर्ने बताएका छन्।
हामी सबैको आवाज नेपाल का पदाधिकारीहरूले भने, “समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले हामीले यसरी सेवा गरेका हौं। आगामी दिनमा पनि सामाजिक, धार्मिक र सांस्कृतिक अवसरहरूमा निरन्तर जनसहभागिता रहनेछ।”
धनकौलमा सम्पन्न यस कार्यक्रममा भक्तजनहरूले मात्र होइन, स्थानीय बासिन्दाले पनि प्रसन्नता व्यक्त गरेका थिए।