
शियाराम यादव
सुरुङ्गा खबर, दोहा । प्रवासी नेपाली एकता मञ्च, कतारले एनआरएनए एनसीसी कतारका नव–निर्वाचित पदाधिकारीहरूलाई एक विशेष कार्यक्रमबीच बधाई तथा सम्मान पत्र द्वारा सम्मान गरेको छ।शुक्रबार नाज्मास्थित क्राउन प्लाजा होटलको सभाहलमा आयोजित नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा, अध्यक्ष पदम गिरीको नेतृत्वमा २०२५–२०२७ कार्यकालका लागि निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सम्मान गरिएको हो।
स्वदेशसँगै प्रवासमा पनि नेपाली हिन्दू महिलाको प्रमुख चाड तीजको उल्लास सुरु भएसँगै, प्रवासी नेपाली एकता मञ्च कतारले परदेशमा रहेका दिदीबहिनीलाई माइतीकै जस्तै वातावरण सिर्जना गर्दै एकै स्थानमा भेला गराई हरितालिका तीज पर्व भव्य रूपमा मनाएको हो।कार्यक्रम संस्थाका अध्यक्ष मोहम्मद मुक्तद्दा मुसलमानको सभापतित्वमा तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै परम्परागत ढंगले दर खाने कार्यक्रम पनि भव्य रूपमा आयोजना गरिएको थियो।