शियाराम यादव ,असार-१७
लहान नगरपालिका–२३ वडा कार्यालयको आयोजनामा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत वडा नं. २३ का विभिन्न विद्यालयका कक्षा १ देखि ९ सम्मका १२२ जना तथा एसईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका २७ जना गरी कुल १४९ जना विद्यार्थीलाई सम्मान गरिएको हो। साथै, शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप स्थानीय अवकाशप्राप्त शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी तथा विशिष्ट अतिथि उपमेयर रामचलितर महतोले सम्मानित विद्यार्थी तथा शिक्षकहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता वडा नं. २३ का वडा अध्यक्ष बद्री नारायण यादवले गर्नुभएको थियो। उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम वडा सदस्य शत्रुधान यादवको पहलमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले यस्ता सम्मान तथा प्रोत्साहन कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह, प्रेरणा तथा प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गरेका थिए।