
शियाराम यादव, जेष्ठ १७
सुरुङ्गा खबर।सिरहा जिल्लाको प्रतिष्ठित खेलकुद प्रतिस्पर्धा मानिने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८२ लहान नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको हो। प्रतियोगिता लहान नगरपालिका अन्तर्गत कवडहल मैदानमा आयोजना गरिएको थियो।प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा जनता समाजवादी पार्टी (जसपा) लहान नगरपालिकाका नगर अध्यक्ष राम उदगार महतोको उपस्थिति रहेको थियो।समापन समारोहको अध्यक्षता सिरहा खेलकुद विकास समितिका कार्यालय प्रमुख हुकुम लाल कमातीले गर्नुभएको थियो।प्रतियोगितामा कराते, तेक्वान्दो, भलिवल र कबड्डीजस्ता विविध खेलहरूको प्रदर्शन गरिएको थियो। सहभागी खेलाडीहरूले उत्कृष्ट खेल कौशल देखाउँदै दर्शकको मन जितेका थिए।आयोजकका अनुसार, प्रतियोगिता युवापुस्तामा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने, सामाजिक एकता, सहकार्य, र अनुशासनको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको हो।कार्यक्रमको अन्त्यमा विभिन्न खेल विधामा विजयी भएका खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीहरूलाई आगामी राष्ट्रियस्तरका प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिने आयोजकले जानकारी दिएको छ।समापन समारोहमा बोल्दै प्रमुख अतिथि दिनेश महतोले “खेलकुद राष्ट्र निर्माणको आधार हो” भन्दै विद्यालयस्तरमै खेल गतिविधिलाई प्राथमिकता दिन आवश्यक रहेको बताए। नगर प्रमुख महेश प्रसाद चौधरीले पनि खेलाडी उत्पादनका लागि नगरपालिकाले पूर्वाधार विकास र आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा खेलाडी, पत्रकार, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी र आयोजक दुवैले प्रतियोगिता सफल रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका थिए।