जीवन कुमार राम, कडरबोना
सुरुङ्गा, खबर। चौथो सुरुङ्गा कप फुटबल प्रतियोगिता २०८३ को उद्घाटन खेलमा हर्दिया युनाइटेडले विजयी सुरुवात गरेको छ। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा माँ मुसहरनिया क्लबलाई पराजित गर्दै हर्दिया युनाइटेडले प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेको हो।

सुरुङ्गा युवा क्लब श्रीपुरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन समारोह सुरुङ्गा कप फुटबल प्रतियोगिता समितिका अध्यक्ष सुजित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो।

त्यसैगरी, नगर उपप्रमुख रुद्रबहादुर कार्की, सुरुङ्गा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिनेश कुमार राम, वडा नं. ७ का वडाध्यक्ष शिवनारायण चौधरी र वडा नं. ५ का वडाध्यक्ष दिलाराम चौधरी अतिथिका रूपमा सहभागी थियो।

कार्यक्रममा सुरुङ्गा युवा क्लब श्रीपुरका अध्यक्ष सुरेश प्रसाद चौधरी, श्रीपुरीज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरी तथा स्वस्तिक लघुवित्तकी कर्मचारी भगवानी साहलगायतको उपस्थिति रहेको थियो। प्रतियोगिता सञ्चालनका क्रममा शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समेत उपस्थिति रहेको थियो।

उद्घाटन खेलमा दुवै टोलीले निर्धारित समयमा दुई–दुई गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा माँ मुसहरनिया क्लबलाई पछि पार्दै हर्दिया युनाइटेडले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
प्रतियोगिता हेर्न स्थानीय बुद्धिजीवी, समाजसेवी, खेलप्रेमी तथा विभिन्न स्थानबाट आएका हजारौँ दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतियोगिताले स्थानीय फुटबलको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा युवालाई खेलकुदप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४१ हजार १०५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई नगद ३१ हजार १०५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, सर्वाधिक गोलकर्ता, म्यान अफ द म्याच तथा प्लेयर अफ द टुर्नामेन्टलगायत विधामा पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
सुरुङ्गा नगरपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा देश–विदेशमा रहेका सुरुङ्गावासीको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताले खेलकुदको माध्यमबाट आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएको छ।