जीवन कुमार राम, असोज ५ कडरबोना
सप्तरी । सुरुङ्गा नगरपालिका–६ श्रीपुरस्थित श्री ज.रा.आ. विद्यालयको लामो समयदेखि अलपत्र अवस्थामा रहेको जग्गालाई खेलमैदानका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ।

करिब ४०/४५ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको ३ कठ्ठा १७.५ धुर क्षेत्रफलको जग्गालाई सदुपयोग गर्दै विद्यार्थीका लागि व्यवस्थित खेलमैदान निर्माण गर्ने उद्देश्यले सरसफाइ तथा जग्गा व्यवस्थापनको काम सुरु गरिएको हो।

विद्यालयको खेलकुद पूर्वाधार विकास तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै जग्गा सफाइ कार्य अघि बढाइएको विद्यालयले जनाएको छ। खेलमैदान निर्माण भएपछि विद्यार्थीहरूले नियमित रूपमा विभिन्न खेलकुद गतिविधिमा सहभागी हुन पाउनुका साथै विद्यालयस्तरका खेलकुद कार्यक्रम सञ्चालन गर्न समेत सहज हुने अपेक्षा गरिएको छ।
जग्गा सफाइ तथा व्यवस्थापन कार्यमा सुरुङ्गा नगरपालिका–६ का वडा अध्यक्ष दिनेश कुमार राम, विद्यालयका प्रधानाध्यापक राजकुमार साह, विद्यालय व्यवस्थापन समिति सदस्यहरू मो. जिबरिल, रबिलाल चौधरी र सोना देवी राम लगायतको सहभागिता रहेको थियो।
लामो समयदेखि उपयोगविहीन रहेको विद्यालयको जग्गालाई खेलमैदानका रूपमा प्रयोगमा ल्याउने पहलले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
विद्यालय तथा सम्बन्धित पक्षले जग्गालाई व्यवस्थित रूपमा विकास गरी आगामी दिनमा आवश्यक पूर्वाधारसहितको खेलमैदान निर्माण गर्ने तयारी अघि बढाएको जनाइएको छ