जीवन कुमार राम सुरुङ्गा खबर, सप्तरी। साउदी अरब – नेपाली राजदूतावास रियादको आयोजनामा तथा नेपाल तामाङ घेदुङ साउदी अरबको सहकार्यमा २५६९औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न भएको छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनलाई विशेष श्रद्धा, भक्ति र बौद्ध शिक्षाको स्मरणसहित विश्वभर मनाइने यस दिनलाई प्रवासी नेपाली समुदायले रियादमा एक भव्य समारोहका साथ मनाएका हुन्।

कार्यक्रम नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, समाजसेवी, बुद्ध धर्मावलम्बी तथा प्रवासी नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो।
बुद्धको करुणा, शान्ति र अहिंसाको मार्गप्रति श्रद्धा प्रकट गर्न १०८ ओटा मैनबत्ती प्रज्वलन गरिएको थियो। यस कार्यले कार्यक्रमलाई आध्यात्मिक भावनासँग जोड्दै सबैमा सकारात्मक ऊर्जा तथा एकताको सन्देश दिएको थियो।
कार्यक्रमको सुरुवात बुद्ध वन्दना तथा दीप प्रज्वलनबाट भएको थियो। साथै, वक्ताहरूले भगवान् बुद्धका शिक्षाहरू – मध्यम मार्ग, चार आर्यसत्य र अष्टाङ्गिक मार्ग – को आजको समाजमा महत्त्वपूर्ण भूमिका रहेकोमा प्रकाश पारे।
राजदूत डा. ढकालले सम्बोधन गर्दै बुद्धको शिक्षा आजको विश्वमा अझ सान्दर्भिक बनेको उल्लेख गरे। उनले प्रवासी नेपालीहरूले जहाँ भए पनि नेपाली संस्कृति र मूल्यको जगेर्ना गर्नु पर्नेमा जोड दिँदै यस्ता कार्यक्रमहरूले आपसी समझदारी र मेलमिलाप बढाउने बताए।
कार्यक्रमको समापन सामूहिक प्रार्थना र धन्यवाद ज्ञापनसहित गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले प्रवासी समुदायमा एकता, सामाजिक सद्भाव र नेपाली संस्कृति प्रतिको गर्व झन् बलियो बनाउने प्रतिक्रिया दिएका छन्।