सुरुङ्गा खबर, सप्तरी
काठमाडौं । जम्मु–कश्मिर प्राकृतिक सुन्दरताको निम्ति विश्वभर चर्चित छ । घाँसे मैदान र नीला तालहरूले सजिएको पहलगाम स्वर्गकै एउटा टुक्राजस्तो लाग्छ । त्यही सुन्दरतामा रमाउन पुगेका २४ पर्यटकसहित २६ जनाको मंगलबार गोली हानी हत्या भयो । करिब त्यति नै घाइते भए । नेपालबाट जम्मु–कश्मिरको सुन्दरता नियाल्न आमा र बहिनीसहित गएका बुटवलका २७ वर्षीय सुदीप न्यौपानेले पनि ज्यान गुमाए ।
आतंकवादीहरूले पर्यटकहरूलाई घेराबन्दीमा पारिसकेपछि सोधपुछ गर्दै गोली दागेर हत्या गरेको भागेर ज्यान बचाएकाहरूले सुनाए । घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तैयब (एलईटी)को शाखा मानिने द रेजिस्टेन्स फ्रन्टले बर्बर हत्याको जिम्मा लियो । लगत्तै भारतीय सुरक्षाकर्मीहरूले आक्रमणकारीहरूको खोजी सुरु गरे ।
यसक्रममा सुरक्षा एजेन्सीहरूले आक्रमणमा संलग्न संदिग्ध आतंककारीहरूको तस्बिर र स्केचहरू जारी गरेका छन् । घटनामा ज्यान बचाएकाहरूले बताएको हुलियाका आधारमा सुरक्षा एजेन्सीहरूले स्केच र तस्वीर जारी गरेका हुन् ।
आक्रमणकारीमध्ये तीनजनाको पहिचान आसिफ फुजी, सुलेमान शाह र अबु तल्हाको रूपमा गरिएको छ । यी तीनैजना द रेजिस्टेन्स फ्रन्टका सदस्य भएको निष्कर्षमा सुरक्षा एजेन्सीहरू पुगेका छन् । यो नरसंहारको मास्टरमाइन्डको रूपमा खालिद नामले चिनिने सैफुल्लाह कसुरी भएको भारतीय गुप्तचर स्रोतहरूले जनाएका छन् ।