राजन कुमार बानिया, पर्सा २२ जेठ
सुरुङ्गा खबर। ठोरी गाउँपालिका–१, भगवाननगर टाडी निवासी दलित, एकल महिला तथा भूमिहीन सुकुम्बासी कुमारी सुनारको घर भीषण हावाहुरीका कारण पूर्ण रूपमा ध्वस्त भएपछि उहाँका लागि नयाँ आवास निर्माण अभियान सुरु गरिने भएको छ ।

संघीय संसद सदस्य टेकबहादुर शाक्यले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन
सांसद शाक्यले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जेठ १० गते आएको भीषण हावाहुरीले कुमारी सुनारको घर पूर्ण रूपमा भत्काएको उल्लेख गरेका छन् । स्थानीयवासी तथा भारतीय सेनामा कार्यरत उदय थापाबाट प्राप्त सूचनापछि घटनास्थल पुगेर निरीक्षण गर्दा घर बस्नै नसक्ने गरी ध्वस्त भएको पाइएको उनको फेसबुक पोस्टमा उल्लेख छ ।
घर भत्किएपछि वृद्धा कुमारी सुनार हाल छिमेकीको गोठमा खाना पकाएर खाने तथा राति अर्कै छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएकी छन् । राज्यबाट प्राप्त वृद्धभत्ताको भरमा जीवनयापन गरिरहेकी सुनारले श्रीमानको निधन भइसकेको तथा आफ्ना दुई छोरा विगत करिब १५ वर्षदेखि सम्पर्कविहीन रहेको बताएकी छन् । परिवारको सहारा, आफ्नै घर तथा जग्गाजमिन केही पनि नभएको अवस्थामा उनको दैनिकी अत्यन्तै कष्टकर र असुरक्षित बनेको पनि पोस्टमा उल्लेख गरिएको छ ।
उनको यही दयनीय अवस्थालाई मध्यनजर गर्दै सुरक्षित आवास निर्माणका लागि जेठ २२ गते बिहान ७ बजे श्रमदानसहित नयाँ घर निर्माण कार्यको शिलान्यास गरिने सांसद शाक्यले जानकारी दिएका छन् । कार्यक्रममा सामाजिक अभियन्ता, सामाजिक कार्यकर्ता, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवावर्ग तथा स्थानीय शुभेच्छुकहरूको सहभागिताका लागि आह्वान समेत गरिएको छ
श्रमदानमार्फत भत्किएको घरका काठपात तथा अन्य सामग्री व्यवस्थापन गरी नयाँ घर निर्माणको प्रक्रिया अघि बढाइने जनाइएको छ । सांसद शाक्यले कुमारी सुनारको जीवनमा पुनः सुरक्षित आश्रय, आत्मविश्वास र आशाको उज्यालो फर्काउन सबैलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।