सुरुङ्गा सम्बाददाता, २५ जनवरी
रियाद, साउदी अरब। नेपाल सरकार र साउदी अरब सरकारबीच साधारण श्रमिकहरूको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले श्रमिक भर्नासम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। उक्त सम्झौता मिति २०८२ माघ ११ गते आइतबार साउदी अरबको रियादमा सम्पन्न भएको हो।

सम्झौतामा नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारको तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री माननीय अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभएको हो।
सम्झौतामा हस्ताक्षर हुनु अघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो। सो अवसरमा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल र साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यो सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रियालाई पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउने महत्वपूर्ण आधार प्रदान गर्ने धारणा राख्नुभयो। साथै, साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगारी सुरक्षामा यसले सकारात्मक योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौताको कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणजस्ता विषयहरूलाई प्राथमिकताका साथ समावेश गरिएको छ। दुवै देशका विद्यमान कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने लक्ष्य यस सम्झौताले लिएको छ।
यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्वमा सुधार आउने विश्वास लिइएको छ।