शियाराम यादव ,साउन- २७
सुरुङ्गा खबर, लहान। सामाजिक एकता र मानवीय संवेदनशीलताको उदाहरण स्वरूप, सिरहा जिल्लामा युवाहरूको निरन्तर पहल र स्थानीय समाजसेवीहरूको सक्रियताबाट स्व. हरि मोहन मुखियाको उपचारका क्रममा बिक्री गरिएको खेत पुनः फिर्ता गरिएको छ। यससँगै, मुखिया परिवारमाथि रहेको केही ऋण पनि पूर्ण रूपमा मिनाहा गरिएको छ।स्व. हरि मोहन मुखिया करिब दुई महिना अघिदेखि काठमाडौँस्थित केएमसी अस्पतालमा उपचाररत थिए। जटिल स्वास्थ्य अवस्थाका कारण उपचार खर्च अत्यधिक बढेपछि आर्थिक अभाव झेलिरहेका उनका परिवारले बाध्यतावश आफ्नो नाममा रहेको खेत बिक्री गरेका थिए। तर दुर्भाग्यवश, उपचारका क्रममा उनको निधन भयो।उक्त पीडादायी घटनापछि स्थानीय युवा, समाजसेवी, प्रवासी नेपाली र विभिन्न समुदायका व्यक्तिहरूले स्व. मुखिया परिवारको सम्पत्ति पुनः जोगाउन सहयोग अभियान सुरु गरे। अभियानका संयोजक शिव यादवका अनुसार, रु. ६ लाख १० हजार ९ सय संकलन गर्न सफल भएको र उक्त रकमबाट खेत फिर्ता गर्न तथा बाँकी ऋण तिर्न प्रयोग गरिएको हो।“यो केवल आर्थिक सहयोग मात्र होइन, एकजुट भएर मानवीय मूल्य जोगाउने प्रयास हो,” यादवले भने, “सबैको सहयोगले परिवारलाई ठूलो राहत मिलेको छ।”सहयोग अभियानमा सिरहा, मधेश प्रदेशका स्थानीय बासिन्दा मात्र होइन, कतार, मलेसिया, दुबईलगायतका मुलुकमा रहेका प्रवासी नेपालीहरूले पनि हातेमालो गरेका थिए।मुखिया परिवारका सदस्यहरूले आँखा रसाउँदै सबै सहयोगीहरू प्रति हार्दिक आभार प्रकट गर्दै भने, “तपाईंहरूकै कारण हाम्रो खेत फिर्ता भयो, ऋणको बोझ हट्यो, र हाम्रो पीडामा साथ दिने परिवारको संख्या अनगिन्ती भयो।”
यो घटनाले समुदायमा “एकजुटता र सद्भावको बल” देखाएको छ, जसले भविष्यमा पनि संकटमा परेका परिवारलाई समाजले कसरी हात थाप्ने भन्ने प्रेरणा दिने विश्वास गरिएको छ।