साउन ७ गते, सुनसरी । द फ्रिडम फण्डको सहयोगमा जन चेतना दलित संगमद्वारा सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाका ३, ५ र ६ नं. वडाका कुल ४५ जना हरवा चरवा समुदायका बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ।

कार्यक्रमको उद्देश्य बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नु, नियमित विद्यालय जाने वातावरण तयार गर्नु र विद्यालयबाट बिचमै पढाइ छोड्ने प्रवृत्तिमा रोक लगाउनु रहेको जनाइएको छ।
छात्रवृत्तिका रूपमा प्रत्येक विद्यार्थीलाई करिब रू. २,५०० बराबरको शैक्षिक सामग्री प्रदान गरिएको थियो। वितरण गरिएका सामग्रीमा १२ थान कापी, स्कुल ड्रेस, पेन्सिल, स्कुल झोला, इरेजर, कटर तथा सिलाइ खर्च वापत नगद रू. ८०० समावेश थियो। सामग्रीहरु नगरप्रमुख कृष्णप्रसाद ढकाल र उप–प्रमुख रिताकुमारी चौधरीको हातबाट प्रदान गरिएको थियो।

जन चेतना दलित संगमकी उपाध्यक्ष सुमिन्त्रा रामका अनुसार छात्रवृत्ति प्राप्त गर्ने बालबालिका जनहिता आधारभूत विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय बोचही–६, राष्ट्रिय आधारभूत विद्यालय सखुवनी–३ लगायतका सामुदायिक विद्यालयहरूमा अध्ययनरत छन्। ती मध्ये धेरैजसो विद्यालय भर्ना अभियानमार्फत भर्ना गरिएका दलित तथा जेहेन्दार विद्यार्थीहरू रहेका छन्।
सन् २०२५ मा जम्मा १६० जना बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको समेत जानकारी गराइयो।
सप्तकोशी नगरपालिका सभाहल, तुलसीचोकमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद ढकाल प्रमुख अतिथि रहनु भयो भने उप–प्रमुख रिताकुमारी चौधरी, कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा, महिला तथा बालबालिका शाखा प्रमुख विष्णुमाया नेपाल, वडा अध्यक्ष, एरिना टेलिभिजनका समिर दुलाल, संस्थाका कार्यकारी निर्देशक इन्द्र राम, नगरस्तरीय संजालकी प्रमिला देवी सदा, अभिभावक तथा छात्रछात्राहरूको गरी ६० जना सहभागिता रहेको थियो।
संस्थाले सप्तकोशी नगरपालिकाका १० वटै वडामा हरवा चरवा सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रम अन्तर्गत हरवा चरवा महिलाहरूलाई नियमित बचत गर्न प्रेरित गरिएको छ। हालसम्म ११० घरपरिवारलाई वङ्गुर पालन, बाख्रापालन, किराना पसल लगायतका साना व्यवसाय सञ्चालनको लागि घुम्ती कोष अन्तर्गत प्रति व्यक्तिः रू. १७,६८५ बराबरको सहयोग गरिएको जनाइएको छ।
बालबालिकाको शिक्षाको लागि तीनवटा ट्युसन केन्द्र सञ्चालनमा छन् भने सुरक्षित आवास, कानुनी सहायता तथा सरकारी सेवा सुविधामा पहुँच अभिवृद्धि गर्न विभिन्न क्षमता विकास कार्यक्रमहरू पनि सञ्चालन भइरहेको संस्थाका कार्यकारी निर्देशक इन्द्र रामले जानकारी दिनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सदस्य बिन्दा कुमारी पासमानले राख्नु भयो भने सञ्चालन प्रेम विश्वकर्माले गर्नुभएको थियो।