फुलो कुमारी जेठ २
सुरुङ्गा खबर । सप्तरीको रुपनी गाउँपालिका–३, सकरीमा पुरानो जग्गा विवादले उग्ररूप लिँदा भएको कुटपिटमा एक जना गम्भीर घाइते भएका छन्।
स्थानीय सुरेन्द्र मोचीलाई शम्भुनाथ नगरपालिका–४ का अजय साहसहितको समूहले बुधबार कुटपिट गरेको हो। कुटपिटबाट गम्भीर घाइते भएका सुरेन्द्रलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल, राजविराजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको छ।
स्थानीय महादेव रामका अनुसार, उक्त विवाद सुरेन्द्रका बुवा रुन्दीलाल राम मोची र अजय साहबीच रहेको पुरानो जग्गा तथा मिटर ब्याजसम्बन्धी लेनदेनसँग जोडिएको हो। सो मुद्दा हाल जिल्ला प्रहरी कार्यालय, राजविराजमा विचाराधीन अवस्थामा रहेको बताइएको छ।
प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। यता घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
यस घटनाले स्थानीय स्तरमा तनावको स्थिति सिर्जना भएको छ।