साउदी अरेबियामा कार्यरत ५२ हजारभन्दा बढी नेपाली श्रमिकलाई एनआरएन‌ए साउदीको सहयोग

0 Shares

सुरुङ्गा खबर, सप्तरी। रियाद, साउदी अरेबिया – गैरआवासीय नेपाली संघ (एनआरएन) साउदी अरेबियाले साउदीमा कार्यरत नेपाली श्रमिकहरूको हकहितका लागि उल्लेखनीय कार्य गर्दै आइरहेको छ। साउदीको रियादस्थित नेपाली राजदूतावास र जेद्धास्थित महावाणिज्य दूतावासको समन्वयमा सञ्चालित विभिन्न कार्यक्रमहरूबाट हालसम्म ५२ हजार ५१४ जना नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित भएका एन‌आर‌एन एनसिसि साउदीकी अध्यक्ष श्रीमती रबिना अर्याल ले जानकारी दिनुभयो।

देशका प्रमुख शहरहरू – दमाम, जुबेल, रियाद, अलकासिम, जिजान, आब्बा, खमिस, ताबुक र जेद्धामा राहदानी शिविर तथा श्रमिक सचेतना कार्यक्रमहरू आयोजना गरिएको छ। यस अभियान अन्तर्गत ३० हजार ९१७ जनालाई राहदानी वितरण गरिएको छ भने २१ हजार ५६४ जनाको प्रि–इन्लोल्मेन्ट अनलाइन फारम संकलन गरिएको छ।

त्यस्तै, अलकासिम र जेद्धामा सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविरबाट २७९ जना श्रमिकले स्वास्थ्य लाभ प्राप्त गरेका छन्।

श्रमिक पीडितहरूको उद्धार तथा सहयोगमा संघले विशेष पहल गरेको छ। पाँच जना श्रमिकलाई एकतर्फी हवाई टिकट उपलब्ध गराइएको छ भने २८ जनाभन्दा बढी श्रमिकलाई राहत वितरण तथा स्वदेश फिर्तीमा सहजीकरण गरिएको छ।

एनआरएन साउदी अन्तर्गतका छ क्षेत्रीय समन्वय समितिहरूको सहकार्यमा विभिन्न स्थानमा “श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र सामुदायिक संस्थाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमहरू समेत आयोजना गरिएका छन्।

नेपालमा प्राकृतिक विपत्तिपछि केन्द्रमा ३ लाख ८१ हजार २२७ रूपैयाँ तथा २ लाख ७० हजार ८४९ रूपैयाँ राहत सहयोग गरिएको छ। कार्यकाल अवधिमा निधन भएका दुई सदस्यका परिवारलाई जनही ५० हजार रूपैयाँ राहत प्रदान गरिएको छ।

जेद्धास्थित महावाणिज्य दूतावासको नेतृत्वमा श्रमिक उद्धार र सहयोग कार्यक्रम पनि सशक्त रूपमा अघि बढाइएको छ। दुर्गाबहादुर सुनारको उद्धारमा १५ हजार ८१७ रियाल, दामोदर क्षेत्रीको उद्धारमा ३ हजार ५०० रियाल, एक श्रमिकको जरिवाना भुक्तानीमा १ हजार ५०० रियाल, र सडक दुर्घटनाबाट खुट्टा गुमाएका जनकलाल वाईवाललाई २ हजार ९५८ रियाल सहयोग गरिएको छ।

यसका साथै, जेद्धा क्षेत्रीय समिति तथा स्थानीय संघसंस्थाको सहकार्यमा नेपाली महिला फुटबल टोलीलाई ६ हजार ७२१ रियालसहित सम्मानपत्र प्रदान गरी प्रोत्साहन गरिएको छ।

एनआरएन साउदीको यो प्रयासले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको जीवनमा सकारात्मक प्रभाव पारिरहेको छ।

सम्बन्धित समाचार

सबै