जीवन कुमार राम
महोत्तरी। दुःख र पीडामा परेका नागरिकलाई सहयोग गर्नु नै मानवताको वास्तविक परिचय हो भन्ने उदाहरण प्रस्तुत गर्दै हेल्प मधेशी साउदी अरब परिवारले उपचाररत एक बिरामीलाई २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
महोत्तरीको एकडारा गाउँपालिका–४ निवासी रामपृत पाण्डेका छोरा जय बालन पाण्डे कम्मरको नसासम्बन्धी समस्याबाट पीडित भई हिँडडुल गर्नसमेत कठिनाइ भोगिरहेका छन्। उनको उपचारमा आर्थिक राहत पुगोस् भन्ने उद्देश्यले हेल्प मधेशी साउदी अरब परिवारको तर्फबाट नेपाली रुपैयाँ २० हजार (बीस हजार रुपैयाँ मात्र) सहयोग प्रदान गरिएको हो।
२०८३ कार्तिक २६ गते आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प मधेशी नेपालका अध्यक्ष संजय यादव, प्रथम उपाध्यक्ष अमरेश कुमार यादव, सदस्यहरू कृष्ण कुमार साह र दिलिप कुमार महतो, हेल्प मधेशी मलेसियाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो, स्थानीय समाजसेवी राजु पाण्डेलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
वैदेशिक रोजगारीका लागि आफ्नो देशबाट टाढा रहेर पनि जन्मभूमिका दुःखी, पीडित र असहाय नागरिकको पीडामा मलम लगाउने उद्देश्यले गरिएको यो सहयोग केवल आर्थिक सहायता मात्र नभई मानवीय संवेदना, सामाजिक एकता र परोपकारी भावनाको उदाहरणसमेत बनेको छ।
समाजमा कोही पनि आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मानवीय सोचका साथ गरिने यस्ता सहयोगले पीडित परिवारमा आशा र भरोसा जगाउनुका साथै सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक सन्देश प्रवाह गर्दछ।
पीडितको उपचारमा सहयोग पुर्याउने हेल्प मधेशी साउदी अरब परिवारको यस प्रशंसनीय कार्यप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै जय बालन पाण्डेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।