सार्वजनिक सडक अतिक्रमण र अव्यवस्थित गतिविधिविरुद्ध सिस्वा युथ क्लबको अभियान, नियम उल्लङ्घन गर्नेलाई कारबाहीको चेतावनी

0 Shares

सुरुङ्गा सम्बाददाता,सप्तरी ।

सार्वजनिक सडकलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सिस्वा युथ क्लबले सुरुङ्गा नगरपालिका–१० स्थित सिस्वा गाउँमा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।

क्लबका अध्यक्ष शिवनन्दन यादवको संयोजकत्वमा सञ्चालित अभियानका क्रममा गाउँका आरसीसी ढलान गरिएका सडकमा पशुचौपाया बाँध्ने, गोबर तथा फोहोर फाल्ने र सार्वजनिक बाटो अतिक्रमण गरी आवागमनमा अवरोध पुर्‍याउने प्रवृत्तिविरुद्ध स्थानीयवासीलाई सचेत गराइएको हो।

अभियानमार्फत अबदेखि सार्वजनिक सडकमा गाई, भैंसी तथा बाख्रालगायतका पशुचौपाया नबाँध्ने, सडकमा गोबर तथा फोहोर नफाल्ने र खुला दिसापिसाब नगरी अनिवार्य रूपमा शौचालय प्रयोग गर्ने प्रतिबद्धता स्थानीयवासीबाट गराइएको छ।

त्यसैगरी, सार्वजनिक सडकमा माटो, गोबर, दाउरा तथा अन्य सामग्री थुपारेर सडक साँघुरो बनाउने र सर्वसाधारणको आवागमनमा बाधा पुर्‍याउने कार्य नगर्न कडा चेतावनी दिइएको छ। आगामी दिनमा यस्ता गतिविधि दोहोर्‍याउने व्यक्तिमाथि आवश्यक प्रक्रिया पूरा गरी नियमानुसार कारबाही गरिने जनाइएको छ।

‘सार्वजनिक सडक कसैको निजी सम्पत्ति होइन, सबैको साझा अधिकार र जिम्मेवारी हो’ भन्ने सन्देशसहित अघि बढाइएको यस अभियानले स्थानीयस्तरमा सरसफाइ, सामाजिक अनुशासन र सार्वजनिक सम्पत्तिको संरक्षणप्रति नागरिकलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

सडक निर्माण गर्नु मात्रै विकास होइन, निर्माण भएका संरचनाको संरक्षण र सदुपयोग गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले सिस्वा युथ क्लबको यो पहललाई स्थानीयस्तरमा सकारात्मक सामाजिक अभियानका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

सबै