सप्तरीको टिकुलियामा दलित महिलामाथि सामूहिक बलात्कारको आरोप, तीन युवकको खोजीमा प्रहरी

0 Shares

सुरुङ्गा सम्बाददाता

सप्तरी। सप्तरीको सुरुङ्गा नगरपालिका–९ टिकुलियामा २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जना स्थानीय युवकविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा किटानी जाहेरी परेको पीडित परिवारले जनाएको छ।

पीडित पक्षका अनुसार बुधबार राति करिब ९ः३० बजे स्थानीय मदरसानजिकै रहेको आँपको बगैँचामा घटना भएको हो। गाउँमा आयोजित दुर्गा पूजा सम्पन्न गरी मूर्ति विसर्जनका लागि बलान नदी पुगेको टोलीसँगै रहेकी महिला ट्याक्टरमा घर फर्किने क्रममा डिजेल सकिएपछि बाटोमै गाडी रोकिएको थियो। त्यसपछि उनी एक्लै पैदल घरतर्फ जाँदै गर्दा बाटोमा रहेका तीन जना युवकले नियन्त्रणमा लिई मुख थुनेर नजिकैको आँपको बगैँचामा पुर्‍याएको र पालैपालो जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ।

जाहेरीअनुसार, आरोपितहरूले धाकधम्की दिँदै जबर्जस्ती करणी गरेपछि महिलालाई घटनास्थलमै बेहोस अवस्थामा छाडेर फरार भएका थिए। अबेरसम्म घर नफर्किएपछि खोजतलासमा जुटेका स्थानीयवासी तथा आफन्तले उनलाई घटनास्थलबाट उद्धार गरेको पीडित पक्षले जनाएको छ।

घटनापछि केही स्थानीय नेताहरूले पीडित परिवारलाई विभिन्न प्रलोभन दिएर घटना सामसुम पार्न खोजेको स्रोतको दाबी छ। यद्यपि, पीडित पक्षले बिहीबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएको जनाएको छ। उक्त प्रलोभनसम्बन्धी दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पीडित पक्षबाट किटानी जाहेरी प्राप्त भएपछि घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पीडितको स्वास्थ्य परीक्षण तथा घटनास्थल मुचुल्कालगायतका अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनामा संलग्न रहेको आशंका गरिएका युवकहरूको पहिचान भइसकेको छ र उनीहरूको खोजी तीव्र पारिएको छ। अनुसन्धान प्रभावित हुन नदिन तथा आरोपितहरू भाग्न नपाऊन् भन्ने उद्देश्यले प्रहरीले थप विवरण गोप्य राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेकाले आरोपितहरूको संलग्नता र घटनाको सम्पूर्ण तथ्य अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

सम्बन्धित समाचार

सबै