आँखै अगाडि बगे श्रीमती र छोरा, दुर्गानन्दको परिवारमा रुवाबासी

0 Shares

सुरुङ्गा सम्बाददाता,सप्तरी, ११ भदौ ।
सुरुङ्गा खबर। रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि सप्तरीको सुरुङ्गा नगरपालिका–७, बसानपट्टीका एक परिवारमा गहिरो चिन्ता र पीडा छाएको छ। बाढीका क्रममा नुवाकोटको त्रिशूली बजारमा रहेका दुर्गानन्द रामकी श्रीमती गीता राम र करिब तीन वर्षीय छोरा दिबाँश कुमार राम सम्पर्कविहीन भएका छन्।


परिवारका अनुसार बुधबार साँझ भोटेकोशीमा आएको बाढीको खबर फैलिएपछि दुर्गानन्दका बुवा कमल रामसहित परिवारका सदस्यले त्रिशूली बजारमा रहेका दुर्गानन्दलाई पटक–पटक फोन गरेका थिए। तर लामो समयसम्म फोन सम्पर्क हुन सकेन।
करिब साँझ ४ बजेतिर भने दुर्गानन्दले साथीको मोबाइलबाट परिवारलाई फोन गरेका थिए। फोनमा उनले आफू बाँच्न सफल भए पनि आफ्नै आँखाअगाडि श्रीमती र छोरालाई बाढीले बगाएको भन्दै रोएको परिवारले जनाएको छ।
२१ वर्षीय दुर्गानन्द करिब तीन वर्षअघि रोजगारीका लागि नुवाकोटको त्रिशूली बजार पुगेका थिए। उनी मोटरसाइकल ग्यारेजमा काम गर्दै श्रीमती गीता र छोरा दिबाँशसँगै बस्दै आएका थिए।
दुर्गानन्दका बुवा कमल रामका अनुसार गीता र दिबाँशको हालसम्म कुनै सम्पर्क हुन सकेको छैन। उनीहरू कहाँ छन् र कस्तो अवस्थामा छन् भन्नेबारे परिवार पूर्ण रूपमा अनभिज्ञ रहेको छ।
आफन्त प्रेम कुमार रामका अनुसार दुर्गानन्द फोन सम्पर्कमा निकै आत्तिएका थिए। श्रीमती र छोरालाई आफ्नै आँखाअगाडि बाढीले बगाएको बताउँदै उनी फोनमै डाको छाडेर रोइरहेका थिए।
प्राकृतिक विपत्तिका कारण एकै परिवारका सदस्य छुट्टिएपछि बसानपट्टीस्थित परिवार अहिले उनीहरूको खोजी र सुरक्षित अवस्थाको खबरको प्रतीक्षामा छ। परिवारले सम्बन्धित निकाय तथा उद्धार टोलीसँग गीता राम र दिबाँश कुमार रामको खोजी तथा अवस्थाबारे जानकारी गराइदिन आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै