जीवन कुमार राम। सुरुङ्गा खबरका पर्सा जिल्ला संवाददाता विष्णु रामले आफ्नो ५१ औं पटक रक्तदान गरेका छन् । समाजसेवा तथा मानवीय सेवाप्रति निरन्तर समर्पित रहँदै आएका रामले नियमित रूपमा रक्तदान गर्दै उदाहरणीय कार्य गर्दै आएका हुन् ।

रक्तदान कार्यक्रममा सहभागी हुँदै उनले “रक्तदान जीवनदान” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै सबैलाई रक्तदान गर्न प्रेरित गरेका छन् । उनले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्दा दुर्घटना, शल्यक्रिया तथा विभिन्न रोगबाट पीडित बिरामीहरूको ज्यान बचाउन महत्वपूर्ण सहयोग पुग्ने बताए ।
विष्णु रामले विगत लामो समयदेखि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवामा सक्रिय भूमिका खेल्दै आएका छन् । उनको ५१ औं पटकको रक्तदानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूले बताएका छन् ।
स्थानीय सामाजिक व्यक्तित्व तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रामको मानवीय कार्यको प्रशंसा गर्दै उनको योगदान समाजका लागि प्रेरणादायी रहेको बताएका छन् । नियमित रक्तदानमार्फत उनले मानव सेवामा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।