सुरुङ्गा सम्बाददाता, कडरबोना । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा शुक्रबारदेखि तेस्रो सुरुङ्गा कप २०८२ खुला फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सुरुङ्गा नगरपालिकाकी नगरप्रमुख गीता चौधरीले गर्नुभयो।
उद्घाटन खेलमा सिरहाको बानो फुटबल क्लब र हर्दिया फुटबल क्लब आमनेसामने भए। खेलको दोस्रो हाफमा हर्दियाका खेलाडीले निर्णायक गोल गर्दै बानो क्लबलाई ०–१ ले पराजित गरे। खेलका ‘म्यान अफ द म्याच’ हर्दियाका प्रविन चौधरी घोषित भए।
सुरुङ्गा युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा आठ टोली सहभागी छन्। आयोजक सुजित चौधरीका अनुसार फाइनल खेल कार्तिक २८ गते हुनेछ। विजेता टोलीले रु. ३१ हजार एक सय, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले रु. २१ हजार एक सय नगदसहित शिल्ड र मेडल प्राप्त गर्नेछन्।
उद्घाटन कार्यक्रममा नगरप्रमुख चौधरीसँगै वडा अध्यक्षहरू दिनेश कुमार राम, देवेन्द्र प्रसाद चौधरी, रामकुमार चौधरी, पूर्वअध्यक्ष लिलाकान्त चौधरीलगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले खेलकुदले युवाहरूबीच एकता र सकारात्मक सोच विकास गराउने बताउँदै स्थानीय खेलमैदानलाई स्तरीय बनाउन नगरपालिकाले सहयोग गर्ने आश्वासन दिनुभयो।