सुरुङ्गा सम्बाददाता
सुनसरी, हरिनगर – हालैको बाढीले प्रभावित बनेका दलित र अति विपन्न परिवारलाई हामी सबैको आवाज नेपाल संस्थाद्वारा राहत वितरण गरिएको छ। राहत वितरण कार्यक्रम संस्थाकी प्रतिनिधि गुन्जा कुमारी रामले जानकारी दिनुभयो।

राहत वितरण कार्यक्रम हामी सबैको आवाज नेपालकी प्रतिनिधि तथा महिला नेतृ फुल कुमारी रामको संयोजकत्व र वडा सदस्य मोहम्मद अंसारीको रोहबरमा सम्पन्न गरिएको हो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा भद्रभलाद्मीहरूको उपस्थितिमा करिब दर्जनौं परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो।

स्थानीयवासी भुवनेश्वर रामले भने, “बाढीले घर र अन्न दुवै बगायो, अहिले राहत पाएर केही राहतको महसुस भएको छ। यस्तो सहयोग निरन्तर होस् भन्ने चाहना छ।”

त्यस्तै अर्की स्थानीय महिला चन्दो देबीले भनिन्, “हामीजस्ता विपन्न परिवारका लागि यस्तो सहयोग ठूलो सहारा हो। संस्थालाई धन्यवाद दिन चाहन्छौं।”
संस्थाकी संयोजक फुल कुमारी रामले आगामी दिनमा पनि यस्ता सहयोगी कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार, हामी सबैको आवाज नेपालले देशका विभिन्न जिल्लामा सामाजिक, सांस्कृतिक क्षेत्रमा काम गर्नेछ।