
लालु चौधरी कपिलवस्तु
सुरुङ्गा खबर। कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका–१ बनखेतमा प्रगतिशील युवा क्लबको आयोजनामा र दुर्गा भवानी आमा समूहको सह–आयोजनामा आयोजित खुला पुरुष–महिला भलिबल प्रतियोगिता तथा कालरात्रि मेला सम्पन्न भएको छ ।
आसोज १२ गतेदेखि शुरु भएको खेलकुद प्रतियोगिता असोज १४ गते कालरात्रिको अवसर पारेर विविध सांस्कृतिक प्रस्तुति सहित सम्पन्न गरिएको हो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको आकर्षक प्रस्तुति रहेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ माउन्टेन भलिबल क्लब बुटवलले प्रथम स्थान हासिल गर्दै नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय स्थान आयोजक समूह ‘ए’ले पाउँदै नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने तेस्रो स्थान जिल्ला प्रहरी कार्यालय तौलिहवाले हासिल गर्दै नगद ५ हजार, मेडल र प्रमाणपत्र हात पार्यो ।
त्यस्तै, महिलातर्फ नयाँगाउँ भलिबल समूहले प्रथम स्थान प्राप्त गर्दै नगद ६ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय स्थान आयोजक समूहले ४ हजार नगदसहित मेडल र प्रमाणपत्र पायो भने रिभरसाइड बुटवलले तृतीय स्थान हासिल गर्दै २ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका सचिव रमेश सुनारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ १८ समूह र महिलातर्फ १२ समूहले सहभागिता जनाएको सचिव सुनारीले बताए ।
समापन कार्यक्रममा बिजयनगर गाउँपालिका कार्यपालिकाको सदस्य सुमित्रा राना प्रमुख अतिथि रहनुहुँदै खेलाडीलाई राष्ट्रिय स्तरमा पुग्ने लक्ष्यसहित खेलमा निरन्तर लाग्न आग्रह गर्नुभयो । उहाँले आगामी विजयादशमीको अवसरमा शुभकामना पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य युवा क्लबका खेलकुद संयोजक दान बहादुर केसीले दिनुभयो भने सञ्चालन दिपेन्द्र महराले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय, प्रहरी, पत्रकार, कलाकारलगायत हजारौँ दर्शकको उपस्थिति रहेको थियो ।