बहुविवाहको कानुनविरुद्ध इनरुवामा महिला नेतृहरूको विरोध प्रदर्शन

0 Shares

सुरुङ्गा सम्बाददाता साउन २०

सुनसरी। बहुविवाहलाई वैधानिक बनाउने प्रयासका विरुद्ध आज सुनसरीको इनरुवामा महिला नेतृहरू र नागरिक समाजका अगुवाहरूले एकजुट हुँदै कडा विरोध प्रदर्शन गरेका छन्। “समाजलाई चरित्रहीन बनाउने, महिलाको शरीरमाथि राजनीति गर्ने यस्तो कानुनको आवश्यकता छैन,” भन्दै उनीहरूले नाराबाजी गर्दै विरोध जनाएका हुन्।

प्रदर्शनमा सहभागी महिलाहरूले बहुविवाहलाई कानुनी संरक्षण दिन खोज्नु महिला अधिकारमाथि खुला आक्रमण भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, यस्तो कानुनले महिलाको आत्मसम्मान, समानता र स्वतन्त्रतालाई नष्ट गर्न खोजेको छ।

विरोधमा उत्रिएका एक महिला नेतृले भनिन्, “यो देश पुरुष मात्र होइन, महिला पनि हो। महिलाविरुद्ध ल्याइने कुनै पनि नीति हामीलाई स्वीकार्य छैन। अब समय आयो, महिला शासनमा आउनु पर्छ भन्ने कुरा यो कानुनले झन् स्पष्ट बनाएको छ।”

उनीहरूले ५४% महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न ५४% राजनीतिक सहभागिताको माग पनि उठाएका छन्। प्रदर्शनमा ‘महिलाको शरीरमाथि होइन, अधिकारमाथि राजनीति गर’, ‘बहुविवाहको कानुन खारेज गर’, ‘महिला शासनको युग सुरु गर’ जस्ता नारा लगाइएको थियो।

विरोध प्रदर्शनमा विभिन्न महिला अधिकारकर्मी, राजनीतिक दलका महिला नेतृहरू, विद्यार्थी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति थियो।

महिला नेतृहरूले यो कानुन पारित भए देशव्यापी आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्। उनीहरूको माग छ — महिला अस्मिता र समानताको संरक्षण गर्ने खालको नीति बन्नुपर्छ, न कि परम्परावादी सोचलाई मलजल गर्ने कानुनी प्रबन्ध।

सम्बन्धित समाचार

सबै