0
Shares
सुरुङ्गा खबर, सप्तरी – सर्लाही। सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा शनिबार बिहान बाटो विस्तारको क्रममा उत्पन्न तनावले उग्र रूप लिँदा भएको झडपमा एक प्रहरी निरीक्षकसहित तीन जना घाइते भएका छन्।
झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले एक राउण्ड हवाई फायर समेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिएका छन्।
उनका अनुसार झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार सडक विस्तारका क्रममा दुई पक्षबीच विवाद चर्किएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो। झडपका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।