सप्तरीमा डाँका समूहको आक्रमण: एक जनाको गोली लागि मृत्यु, सुनचाँदी र नगद लुटपाट

0 Shares

जीवन कुमार राम सुरुङ्गा खबर। सप्तरीको सुरुङा नगरपालिका–८, मलहनमामा डाँका समूहको आक्रमणमा परी एक व्यक्तिको ज्यान गएको छ। घटनामा स्थानीय ५६ वर्षीय कान्तलाल चौधरीको गोली हानी हत्या गरिएको हो।

 

बिहीबार राति करिब १२ बजे ५–६ जनाको समूहमा आएका डाकाहरूले चौधरीको घरमा जबर्जस्ती प्रवेश गरी आक्रमण गरेका थिए। आक्रमणका क्रममा कान्तलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 

उक्त आक्रमणमा कान्तलालका भाई ४० वर्षीय रमाकान्त चौधरी घाइते भएका छन्। डाँका समूहले चौधरीको घरबाट ५ तोला सुन, २ किलो चाँदी र करिब ५०–६० हजार रुपैयाँ नगद लुटेको प्रहरीले जानकारी दिएको छ।

 

घटनापछि इलाका प्रहरी कार्यालय कडरबोना तथा जिल्ला प्रहरी कार्यालय राजविराजबाट अनुसन्धान टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनास्थलबाट एउटा गोलीको खोका र तीन वटा गोली बरामद गरेको जनाएको छ।

 

सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिवडाका अनुसार डाँका समूहको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र पारिएको छ। विभिन्न शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

 

यस घटनापछि मलहनमाका स्थानीयवासीहरूमा त्रास फैलिएको छ।

सम्बन्धित समाचार

सबै