सुरुङ्गा खबर। सप्तरीको कञ्ञ्नरुप नगरपालिका–१ का १८ वर्षीय दलित युवक चन्दर सदा शुक्रबार साँझ निर्घात कुटपिटमा परेका छन्। स्थानीय तीन जनाको समूहले बाटोमै आक्रमण गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पीडित चन्दर सदा आमा र भान्जासँग घर फर्किने क्रममा रमेश यादव नामक युवकले बिना कारण गालीगलौज गरेका थिए। विरोध गर्दा रमेशले जातीय आधारमा अपमान गर्दै कुटपिट सुरु गरेको चन्दरको भनाइ छ। “मुसहर भएर किन बोलिस्” भन्ने जातीय अभिव्यक्तिपछि रमेशले हातपात थालेका थिए।
रमेशको आक्रमणपछि उनले आफ्ना काका देवेन्द्र यादव (उर्फ देवी) र भाइ शम्भु यादवलाई बोलाएका थिए। ती तीनै जनाले मिलेर चन्दरमाथि लात्ती, घुँडा, र हातले घाँटीसमेत किच्दै कुटपिट गरेका थिए। स्थानीयले प्रहरीलाई खबर गरेपछि चन्दरलाई तत्काल अस्पताल पुर्याइएको थियो।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर बिष्टका अनुसार घटनामा संलग्न देवेन्द्र यादव र रमेश यादवलाई पक्राउ गरिएको छ। “देवेन्द्र यादव प्रत्यक्ष कुटपिटमा संलग्न नभएको प्रारम्भिक अनुसन्धानमा देखिएकाले हाजिरी जमानीमा छाडिएको छ,” बिष्टले जानकारी दिए। रमेश यादवलाई भने अनुसन्धानपछि कानुनी कारबाही अघि बढाइएको छ। अर्का अभियुक्त शम्भु यादव फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित चन्दर सादा दैनिक ज्यालादारी गरेर जीविका चलाउने व्यक्ति हुन् र आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो। प्रहरीकै सहयोगमा उनलाई उपचारका लागि अस्पताल पठाइएको हो।
फरार अभियुक्त शम्भु यादवमाथि कञ्चनरुप–१ क्षेत्रमा भएका दर्जनौं चोरीका घटनामा समेत संलग्न रहेको भन्दै पहिलेका मुद्दा दर्ता छन्।
घटनाप्रति दलित सरोकार मञ्च नेपाल, कञ्चनरुपले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाही गर्न र पीडितको उपचारमा सहयोग पुर्याउन प्रहरी प्रशासनसँग माग गरेको छ।