जीवन कुमार राम
सुरुङ्गा खबर, साउदी अरब। गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, अलकासिम, साउदी अरबको छैटौं अधिवेशन २०२५ भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमार्फत आगामी दुई वर्ष (२०२५–२०२७) कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा विनोद खड्का निर्वाचित भएका छन्। समितिमा कुल १३ सदस्यहरू चयन गरिएका छन्, जसले आगामी दिनमा अलकासिम क्षेत्रका नेपाली समुदायको हकहित, सहकार्य र एकता प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उक्त अधिवेशन नेपाली राजदूतावास, साउदी अरबका प्रथम सचिवको विशेष उपस्थितिमा सम्पन्न भएको हो। साथै, कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू तथा नेपाली समुदायका उल्लेखनीय व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरूले अधिवेशनलाई झनै आकर्षक बनाएको थियो। कार्यक्रममा गीत–संगीत, नृत्य तथा नेपाली सांस्कृतिक झलक झल्किने प्रस्तुतीहरू समावेश गरिएका थिए।
अधिवेशनले अलकासिमस्थित नेपाली समुदायमा एकता, समर्पण र सहकार्यको भावना अझ सशक्त बनाएको सहभागीहरूले बताएका छन्।