जीवन कुमार राम ६ जेठ
सुरुङ्गा खबर, सप्तरी। श्री जनता राष्ट्रिय आधारभूत विद्यालय, सुरुङ्गा–६ श्रीपुरमा पोषण सप्ताह २०८२ भव्य रूपमा सम्पन्न गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राज नारायण चौधरीको अध्यक्षता तथा सुरुङ्गा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री दिनेश कुमार रामको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका सदस्य–सचिव तथा विद्यालयका प्रधानाध्यापक श्री राजकुमार साहको सक्रिय समन्वयमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, बिधार्थी,अभिभावक, समाजसेवी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
पोषण सप्ताह अन्तर्गत बालबालिकाको पोषण, स्वास्थ्य र सरसफाइ सम्बन्धी विविध सचेतनामूलक कार्यक्रम, अभिभावक अभिमुखीकरण र बृद्धिपोषणमूलक गतिविधिहरू सञ्चालन गरिएको थियो। कार्यक्रममा अभिभावकहरूलाई सन्तुलित आहार, बालबालिकाको नियमित स्वास्थ्य परीक्षण तथा स्वच्छ वातावरणको महत्वबारे जानकारी दिइएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज नारायण चौधरीले पोषण र शिक्षाको सम्बन्धबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले सामुदायिक चेतना अभिवृद्धिमा सकारात्मक भूमिका खेल्ने बताए। प्रमुख अतिथि वडा अध्यक्ष दिनेश कुमार रामले स्थानीय सरकारको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे।
प्रधानाध्यापक राजकुमार साहले सबै सहभागीप्रति आभार व्यक्त गर्दै विद्यालयले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराए।