सुरुङ्गा खबर, सप्तरी बैशाख २३ लहान नगरपालिका–१२ र २२ मा पर्ने सलहेश फूलवारी नजिक निर्माणाधीन डा. भीमराव अम्बेडकर पार्कको लागि फेरि एक जना स्थानीयले जग्गा दान गर्न तयार भएको खबर आएको छ।
यसअघि पार्कको लागि १० धुर जग्गा दान गरेका जितेन्द्र सिंह धामीले विभिन्न विवादका कारण दान फिर्ता लिएका थिए। उनले मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह र डा. सीके राउतले झूट बोलेको आरोप लगाउँदै जग्गा नदिने घोषणा गरेका थिए। त्यसपछि लहान–१ निवासी डा. काशिन्द्र महराले एक कठा जग्गा दान गर्न सहमति जनाएका हुन्।
गत वैशाख १५ गते मुख्यमन्त्री सिंह र डा. राउतले पार्कको शिलान्यास गरेका थिए। तर सलहेश फूलवारीसँग जोडिएको क्षेत्रमा अम्बेडकर पार्क बनाइँदा राजा सलहेशको ऐतिहासिक र सांस्कृतिक महत्व ओझेलमा पर्न सक्ने भन्दै पासवान समुदायले निरन्तर विरोध गर्दै आएको छ।
डा. अम्बेडकर को हुन्?
डा. भीमराव अम्बेडकर भारतीय संविधानका प्रमुख शिल्पी, दलित आन्दोलनका अगुवा तथा मानवअधिकारकर्मी हुन्। उनले छुवाछूत, जातीय भेदभाव र सामाजिक विभेदविरुद्ध जीवनभर संघर्ष गरे। सन् १९४७ मा भारतीय संविधान मस्यौदा समितिको अध्यक्ष भएर समानताको पक्षमा विशेष संवैधानिक व्यवस्था गर्न उनले प्रमुख भूमिका खेले।
उनी लण्डन स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधि प्राप्त गर्ने विशिष्ट व्यक्तित्व हुन्, र उनका सालिकहरू विश्वका विभिन्न स्थानहरूमा स्थापित छन्। सन् २००४ मा कोलम्बिया विश्वविद्यालयले उनलाई विश्वका शीर्ष १०० विद्वानमध्ये पहिलो स्थानमा राखेको थियो।